नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बाढी प्रभावित समुदायका लागि नेपाललाई करिब २ करोड २८ लाख रुपैयाँ बराबरको आपत्कालीन स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।
डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमार्फत उपलब्ध गराइएको उक्त स्वास्थ्य सामग्रीले करिब १० हजार मानिसलाई तीन महिनासम्म स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्ने जनाइएको छ। सहयोग गरिएका सामग्रीमा आकस्मिक टेन्ट, हेल्थ किट, सर्जिकल मास्क, पञ्जालगायतका अत्यावश्यक स्वास्थ्य सामग्री रहेका छन्।
नेपालमा आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. निलेश बुद्धले आपत्कालीन कोषमार्फत उपलब्ध गराइएको सहयोगले बाढी प्रभावितको तत्कालीन स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न सहयोग पुग्ने बताउनुभयो।
उहाँले नेपालमा आपत्कालीन स्वास्थ्य प्रतिकार्य तथा पुनर्स्थापनाका प्रयासमा निरन्तर सहयोग गर्न डब्ल्यूएचओ प्रतिबद्ध रहेको बताउनुभयो।
डब्ल्यूएचओका अनुसार हालसम्म बाढीका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ भने करिब ३ हजार जना अझै बेपत्ता छन्। संगठनले नेपाल सरकार तथा साझेदार संस्थासँगको सहकार्यमा स्वास्थ्य प्रतिकार्यलाई प्रभावकारी बनाउन, रोग निगरानी प्रणाली सुदृढ गर्न तथा अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालनमा राख्न सहयोग गरिरहेको जनाएको छ।
बाढीपछि डुबान तथा डुबेर हुने मृत्युका साथै विभिन्न प्रकारका चोटपटक, झाडापखाला, श्वासप्रश्वाससम्बन्धी समस्या, पानी तथा खाद्यजन्य रोग र वाहकजन्य रोगको जोखिम बढ्न सक्ने डब्ल्यूएचओले जनाएको छ।
यस्ता स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै बाढी प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी, सरसफाइ, रोगको निगरानी तथा अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरतालाई प्राथमिकतामा राख्नुपर्नेमा डब्ल्यूएचओले जोड दिएको छ।
बाढीपीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन
शुक्रबार, भदौ १९, २०८३
सुरुङबाट उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य
शुक्रबार, भदौ १९, २०८३
मानव अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षमा डा. सम्पूर्णमान तुलाधर नियुक्त
शुक्रबार, भदौ १९, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त, को कुन पदमा?
बिहीबार, भदौ १८, २०८३
