नेपाल हेल्थ न्युज, नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता र सम्भावित स्वास्थ्य जोखिमबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीले नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ।
मन्त्रीले विदुर नगरपालिका–१ स्थित त्रिशूली सेफ हाउस तथा क्रियापुत्री भवन, बाढी प्रभावित त्रिशूली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तल्लो पिपलटार र चन्द्रज्योति माध्यमिक विद्यालय पुगेर स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिनुभएको हो ।
अनुगमनका क्रममा मन्त्रीले बाढी तथा विपद्बाट प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग उपचार व्यवस्थाको अवस्थाबारे समेत छलफल गर्नुभएको थियो।
प्रभावित क्षेत्रमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पर्याप्त भएरनभएकोबारे जानकारी लिँदै मन्त्रीले आवश्यकता अनुसार थप औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सम्बन्धित निकायसँग समन्वय गर्नुभएको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा सरुवा रोग फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जोखिम न्यूनीकरणका उपाय, स्वास्थ्यकर्मीको परिचालन तथा घाइते र बिरामीको उपचार व्यवस्थाबारे पनि अनुगमन गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, विपद्का कारण प्रभावित नागरिकमा पर्न सक्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक असरलाई सम्बोधन गर्न मनोपरामर्श सेवाको उपलब्धताबारे समेत मन्त्रीले जानकारी लिनुभएको छ।
मन्त्रालयका अनुसार विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले आवश्यक स्रोत, जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिइने मन्त्रालयले जनाएको छ।
‘सिस्टम खराब छ’ भन्दै हुम्ला अस्पतालको अवस्था सुनाएका डा. तिवारीको सरुवा
बुधबार, भदौ १७, २०८३
रसुवा बाढीका घाइतेमध्ये १३ जना ट्रमा सेन्टरमा उपचाररत, ३५ जना डिस्चार्ज
बुधबार, भदौ १७, २०८३
यतिकेम ग्रुपद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५५ लाख १५ रुपैयाँ सहयोग
बुधबार, भदौ १७, २०८३
बाढी प्रभावितका लागि डब्ल्यूएचओद्वारा २ करोड बढीको स्वास्थ्य सामग्री सहयोग
बुधबार, भदौ १७, २०८३
