नेभिगेशन

दक्षिण–पूर्वी एसियाका स्वास्थ्य मन्त्रीहरू अर्को हप्ता डिलीमा भेला हुँदै

नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्री तथा उच्च अधिकारीहरू स्वास्थ्य क्षेत्रका प्रमुख प्राथमिकतामाथि छलफल गर्न आगामी साता टिमोर–लेस्टेको राजधानी डिलीमा भेला हुने भएका छन्।

डब्ल्यूएचओ दक्षिण–पूर्वी एसियाको ७९औँ क्षेत्रीय समितिको बैठक सेप्टेम्बर ७ देखि १० सम्म टिमोर–लेस्टेको आयोजनामा हुँदैछ। बैठकमा यस क्षेत्रका सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्च सरकारी अधिकारीहरूको सहभागिता रहनेछ।

बैठकमा विशेषीकृत स्वास्थ्य सेवामा समान पहुँच, क्षयरोग अन्त्य गर्ने प्रयास, डिजिटल स्वास्थ्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलगायतका विषयमा छलफल हुनेछ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेहब्रेयेसस लगायत वरिष्ठ अधिकारीहरू पनि बैठकमा सहभागी हुने अपेक्षा गरिएको छ।

विशेषीकृत उपचारमा समान पहुँच

बैठकमा ‘स्वास्थ्यका लागि जनशक्तिः विशेषीकृत सेवामा समानता’ विषयमा मन्त्रीस्तरीय छलफल हुनेछ। बढ्दो उमेरसँगै जनसंख्याको स्वास्थ्य आवश्यकता परिवर्तन भइरहेका बेला सबै नागरिकलाई आवश्यक विशेषीकृत स्वास्थ्य सेवा कसरी समान रूपमा उपलब्ध गराउने भन्ने विषयमा छलफल गरिनेछ।

क्षयरोग नियन्त्रणमा जोड

दक्षिण–पूर्वी एसिया क्षेत्र विश्वकै क्षयरोगको ठूलो भार बोकेको क्षेत्रमध्ये एक हो। डब्ल्यूएचओका अनुसार सन् २०२४ मा यस क्षेत्रमा अनुमानित ३६ लाख ८० हजार नयाँ क्षयरोगका बिरामी देखिएका थिए भने ४ लाख ३३ हजार जनाको मृत्यु भएको थियो।

क्षयरोग अन्त्य गर्ने लक्ष्यतर्फ भएका प्रगतिका बाबजुद बाँकी चुनौती सम्बोधन गर्न प्रारम्भिक पहिचान, रोकथाम तथा प्राथमिक स्वास्थ्य सेवामै क्षयरोगसम्बन्धी सेवा थप प्रभावकारी रूपमा एकीकृत गर्ने विषयमा बैठकले रणनीति तय गर्नेछ।

स्वास्थ्यमा एआई र डिजिटल प्रविधि

बैठकमा डिजिटल प्रविधि र एआई ले स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा दिन सक्ने योगदानबारे पनि छलफल हुनेछ।

सार्वभौम स्वास्थ्य पहुँच (युनिभर्सल  हेल्थ कभरेज) हाँसिल गर्न डिजिटल स्वास्थ्य प्रविधिको प्रभावकारी प्रयोग कसरी गर्ने भन्ने विषय बैठकको अर्को महत्वपूर्ण एजेन्डा हुनेछ।

सार्वभौम स्वास्थ्य पहुँच र प्राथमिक स्वास्थ्य सेवा

बैठकमा स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य (एसडिजिएस) र सार्वभौम स्वास्थ्य पहुँचतर्फ भइरहेको प्रगतिको समीक्षा गरिनेछ। विशेषगरी प्राथमिक स्वास्थ्य सेवा, उपचारको गुणस्तर, स्वास्थ्य सेवामा हुने आर्थिक भारबाट नागरिकको सुरक्षा र समग्र स्वास्थ्य प्रणाली सुदृढीकरणमा थप काम गर्नुपर्ने विषयमा जोड दिइनेछ।

सङ्क्रामक रोग उन्मूलनमा ‘अन्तिम चरण’ चुनौती

डब्ल्यूएचओका अनुसार सन् २०१४ यता दक्षिण–पूर्वी एसिया क्षेत्रमा ३५ भन्दा बढी सङ्क्रामक रोग उन्मूलनसम्बन्धी उपलब्धि हासिल भएका छन्।

अब सन् २०३० सम्मका बाँकी उन्मूलन लक्ष्य हासिल गर्न अन्तिम चरणमा रहेका चुनौतीलाई सम्बोधन गर्न अझ एकीकृत र जनकेन्द्रित रणनीति आवश्यक रहेको डब्ल्यूएचओले जनाएको छ।

चिकित्सा उपकरणदेखि विपद् प्रतिरोधी स्वास्थ्य संस्था

बैठकमा गुणस्तरीय चिकित्सा उपकरण तथा निदान सेवामा पहुँच बढाउने विषयमा पनि छलफल हुनेछ। उपकरण छनोट, खरिद, प्रयोगदेखि मर्मतसम्भारसम्मको सम्पूर्ण जीवनचक्रलाई व्यवस्थित गर्ने विषयमा सदस्य राष्ट्रहरूले छलफल गर्नेछन्।

त्यस्तै, विपद् तथा जलवायुजन्य जोखिमका बेला पनि अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सक्ने गरी स्वास्थ्य संस्थालाई थप मजबुत र प्रतिरोधी बनाउने विषयलाई पनि प्राथमिकतामा राखिएको छ।

बैठकले आगामी वर्षहरूका लागि डब्ल्यूएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रको स्वास्थ्य एजेन्डालाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ। करिब २ अर्ब जनसंख्या रहेको यस क्षेत्रमा सबै नागरिकको स्वास्थ्य तथा कल्याण प्रवर्द्धन गर्दै स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासलाई तीव्रता दिने बैठकको मुख्य उद्देश्य रहेको डब्ल्यूएचओले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट