नेभिगेशन

‘पेन्टोलोक–डीएसआर’ औषधिको एक ब्याच बजारबाट फिर्ता गर्न औषधि विभागको निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको ‘पेन्टोलोक–डीएसआर’ औषधिको एक ब्याच बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेको औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि न्यून गुणस्तरको पाइएको जनाएको छ।

विभागका अनुसार क्युरेक्स फार्मास्युटिकल्स प्रालि., बनेपा, नेपाल द्वारा उत्पादित पेन्टोलोक–डीएसआर (प्यान्टोप्राजोल एन्ड डोम्पेरिडोन सस्टेन्ड रिलिज क्याप्सुल्स) को सीपीडी–०५७ ब्याच गुणस्तर परीक्षणमा असफल भएको हो।

परीक्षणका क्रममा उक्त औषधिमा रहेको डोम्पेरिडोन को डिसोल्युसन टेस्ट सम्बन्धमा आईपी २०२६ तथा कम्पनीको आफ्नै परीक्षण विधिअनुसार तोकिएको मापदण्ड पूरा नभएको पाइएको विभागले जनाएको छ।

उक्त ब्याचको औषधिको उत्पादन मिति सेप्टेम्बर २०२५ र म्याद सकिने मिति अगस्ट २०२७ रहेको छ। विभागले बिहीबार प्रकाशित गरेको अत्यन्त जरुरी सूचनामार्फत उक्त ब्याचको औषधिको बिक्री–वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिएको छ।

साथै, सीपीडी–०५७ ब्याच नम्बर उल्लेख भएको पेन्टोलोक–डीएसआर औषधिको सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न र नगराउन समेत विभागले सम्बन्धित सबैलाई आग्रह गरेको छ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी औषधि फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ। बजारबाट फिर्ता गरिएको औषधिको विवरण विभागमा पेश गर्न पनि सम्बन्धित उद्योग तथा प्रतिनिधिलाई निर्देशन दिइएको छ।

recall-aushadi-11-1788430606.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट