नेपाल हेल्थ न्युज, भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा ३९औँ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। केन्द्रमा गत भदौ ८ गते सर्लाहीका ३७ वर्षीय बाल गोविन्द यादवको कलेजो प्रत्यारोपण गरिएको हो।
यादवलाई उहाँकी ३३ वर्षीया श्रीमती मिना कुमारी यादवले आफ्नो आधा कलेजो दान गर्नुभएको थियो। प्रत्यारोपणपछि दाता मिना कुमारीलाई आठौँ दिनमै अस्पतालबाट डिस्चार्ज गरिएको थियो भने ग्रहणकर्ता बाल गोविन्दलाई १०औँ दिनमा सकुशल डिस्चार्ज गरिएको केन्द्रले जनाएको छ। दाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ।
श्रीमान्को जीवन बचाउन आफ्नो शरीरको आधा कलेजो दान गरेकी मिना कुमारीको साहस र समर्पणलाई केन्द्रले मानवताको अनुपम उदाहरणका रूपमा उल्लेख गरेको छ।
कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. रामबाबु साहको नेतृत्वमा भएको उक्त प्रत्यारोपणमा शल्यक्रिया, एनेस्थेसिया तथा क्रिटिकल केयर, रेडियोलोजी, कार्डियोलोजी, प्याथोलोजी, ग्यास्ट्रोइन्टरोलोजी, पल्मोनोलोजी, नर्सिङलगायत विभिन्न विभागका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली सहभागी थियो। ओटी व्यवस्थापन, डाइट, फिजियोथेरापी, फार्मेसी, प्रशासन तथा प्रत्यारोपण समन्वय टोलीको समेत प्रत्यक्ष सहभागिता रहेको केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार १४ वर्षको अवधिमा हालसम्म १ हजार ६ सय ८० जनाको मृगौला र ३९ जनाको कलेजो प्रत्यारोपण सम्पन्न भइसकेको छ। नेपालमै नियमित रूपमा कलेजो प्रत्यारोपण सेवा उपलब्ध हुन थालेपछि यसका लागि विदेश जानुपर्ने बाध्यता क्रमशः कम हुँदै गएको केन्द्रको भनाइ छ।
केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठका अनुसार केन्द्रले देशमा हुने कुल प्रत्यारोपणमध्ये करिब दुई तिहाइ प्रत्यारोपण गर्दै आएको छ। नियमित कलेजो प्रत्यारोपण सेवाले जटिल उपचारका लागि विदेशमा निर्भर हुनुपर्ने अवस्थासमेत घटाउन सहयोग पुगेको उहाँले बतानुभयो।
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पताल ल्याइएका २४४ मध्ये १६१ को अस्थायी व्यवस्थापन
आइतबार, भदौ २१, २०८३
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी
आइतबार, भदौ २१, २०८३
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
आइतबार, भदौ २१, २०८३
पाल्पामा दुई महिनामै २३१ जनामा डेंगु संक्रमण
आइतबार, भदौ २१, २०८३
