नेभिगेशन

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

नेपाल हेल्थ न्युज, काठमाडौं । बाढी तथा पहिरोपछि हैजा र अन्य पानीजन्य रोगको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।

बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न आवश्यक औषधि, खोप, स्वास्थ्य सामग्री तथा जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले निर्देशन दिनुभएको छ।

मन्त्रीको निर्देशनपछि प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउने, रोग निगरानी बढाउने, सुरक्षित खानेपानी तथा सरसफाइमा विशेष ध्यान दिने र आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

बाढीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले रसुवाका प्रभावित क्षेत्रमा हैजा लगायतका पानीजन्य रोगको जोखिम बढेको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।

स्वास्थ्य अधिकारीहरूले प्रभावित क्षेत्रमा रोगको रोकथाम, शीघ्र पहिचान तथा उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट