नेपाल हेल्थ न्युज, काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएकामध्ये राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत ३८ जना उपचारपछि डिस्चार्ज भएका छन्।
बाढीमा परी घाइते भएका ५० जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो।
राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १२ जना घाइतेको उपचार भइरहेको छ। अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरूलाई साधारण शय्यामा राखेर उपचार भइरहेको छ।
भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।
सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको संख्या बढिरहेको प्रहरीले जनाएको छ। अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिइरहेका छन्।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। उद्धार गरिएका घाइतेको उपचारसँगै पीडित तथा बेपत्ता व्यक्तिका आफन्तसँग समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित निकायले पहल गरिरहेको प्रहरीले जनाएको छ।
बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ।
भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पताल ल्याइएका २४४ मध्ये १६१ को अस्थायी व्यवस्थापन
आइतबार, भदौ २१, २०८३
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
आइतबार, भदौ २१, २०८३
पाल्पामा दुई महिनामै २३१ जनामा डेंगु संक्रमण
आइतबार, भदौ २१, २०८३
चिरफार बिनै गरियो नसाको जटिल उपचार
आइतबार, भदौ २१, २०८३
