नेपाल हेल्थ न्युज, रुपन्देही। लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई थप व्यावहारिक बनाउन सरकारसँग माग गर्नुभएको छ।
अन्य प्रदेशमा अस्पताल नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै उहाँहरूले लुम्बिनी प्रदेशमा पनि नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गर्नुभएको हो।
रुपन्देहीको बुटवलमा आइतबार लुम्बिनी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसँग भएको भेटमा निजी अस्पताल सञ्चालकहरूले अस्पताल सञ्चालन तथा नवीकरणसम्बन्धी विद्यमान व्यवस्थाका कारण अनावश्यक प्रशासनिक झन्झट व्यहोर्नुपरेको गुनासो गर्नुभएको छ।
निजी स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा नियमन आवश्यकताअनुसार जुनसुकै समयमा गर्न सकिने भएकाले नवीकरणको अवधि बढाउँदा व्यावहारिक हुने उहाँहरूको भनाइ छ। अस्पताल नवीकरणका लागि पटक–पटक प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवा प्रवाहमा समेत असहजता सिर्जना गरेको उहाँहरूले बताउनुभएको छ।
तिनाउ अस्पताल, बुटवलका पूर्वअध्यक्ष रुद्र कार्कीले निजी स्वास्थ्य संस्थाको नवीकरण अवधि बढाउनुका साथै निजी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारले स्पष्ट नीति लिनुपर्ने बताउनुभएको छ।
निजी अस्पताल तथा स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै उहाँले सरकार र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
भेटका क्रममा निजी अस्पताल सञ्चालकहरूले नवनियुक्त स्वास्थ्यमन्त्री पुनलाई बधाई दिँदै निजी स्वास्थ्य क्षेत्रसँग सहकार्य गरेर सुधारका काम अघि बढाउन आग्रह गर्नुभएको छ।
उहाँहरूले निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा जनशक्तिका लागि तालिमको व्यवस्था गर्नुपर्ने, अस्पतालजन्य फोहरमैला व्यवस्थापनमा सहजीकरण गर्नुपर्ने तथा निजी स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि नियमित संवादको व्यवस्था गर्नुपर्ने मागसमेत राख्नुभएको छ।
निजी अस्पताल सञ्चालकहरूले राख्नुभएका माग तथा सुझावका विषयमा मन्त्री पुनले आवश्यक छलफल तथा सहजीकरण गर्ने आश्वासन दिनुभएको छ। रासस
कम खर्चमा शरीर र मन दुवै स्वस्थ राख्ने ५ उपाय
सोमबार, भदौ २२, २०८३
चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा तालिका सार्वजनिक, कुन विषयको कति गते?
सोमबार, भदौ २२, २०८३
नेपाल चिकित्सक संघ सुर्खेत शाखाको अध्यक्षमा डा. केएन पौडेल
सोमबार, भदौ २२, २०८३
मनमोहन मेमोरियल मेडिकल कलेजमा रक्त सञ्चार केन्द्रका लागि दुई जना कर्मचारी माग
सोमबार, भदौ २२, २०८३
