नेभिगेशन

नेपाल चिकित्सक संघ सुर्खेत शाखाको अध्यक्षमा डा. केएन पौडेल

नेपाल हेल्थ न्युज, सुर्खेत । नेपाल चिकित्सक संघ सुर्खेत शाखाको अध्यक्ष पदको जिम्मेवारी डा. केएन पौडेलले सम्हालनुभएको छ। नयाँ जिम्मेवारी पाएसँगै डा. पौडेलले चिकित्सकहरूको पेसागत हकहित संरक्षणसँगै कर्णाली प्रदेशको स्वास्थ्य सेवा प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउने बताउनुभएको छ।

अध्यक्ष डा. पौडेलले चिकित्सकहरूबीच आपसी एकता, सहकार्य र विश्वासको वातावरणलाई थप मजबुत बनाउँदै चिकित्सकीय पेसाको गरिमा र साख उच्च राख्न आफ्नो कार्यकाल केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कर्णाली प्रदेशका दूरदराजका क्षेत्रमा समेत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै सेवामुखी, प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न आफूले अभिभावकीय तथा समन्वयकारी भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ।

पदभार ग्रहण गरेपछि अध्यक्ष डा. पौडेलको अध्यक्षतामा बसेको शाखाको पहिलो बैठकले संस्थागत कार्य सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न निर्णय गरेको छ।

बैठकले प्रदेश अस्पताल परिसरमै नेपाल चिकित्सक संघ सुर्खेत शाखाको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ। त्यस्तै, संघका गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णयसमेत गरिएको छ।

बैठकले प्रत्येक महिनाको अन्तिम साता शाखाको नियमित बैठक बस्ने तथा संस्थागत गतिविधि सञ्चालनका लागि पदाधिकारी र सदस्यहरूबाट मासिक रूपमा आर्थिक योगदान संकलन गर्ने निर्णय पनि गरेको छ।

अध्यक्ष डा. पौडेलले शाखालाई चिकित्सकहरूको पेसागत हकहितका लागि सक्रिय बनाउँदै कर्णालीको स्वास्थ्य क्षेत्र सुधारमा रचनात्मक भूमिका खेल्ने बताउनुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट