नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल स्वास्थ्य बीमा बोर्डले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा स्वास्थ्य बीमा सेवा सहज बनाउन सहभुक्तानी (को-पेमेन्ट) र क्यापिङ हटाउने निर्णय गरेको छ।
बोर्डको भदौ २२ गतेको निर्णयअनुसार गत भदौ १० गते रसुवा जिल्लाको ल्हेन्दे खोलाबाट आएको अप्रत्याशित बाढीबाट अति प्रभावित तीन जिल्लालाई नेपाल सरकारले तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा स्वास्थ्य बीमा सेवामा विशेष सहजीकरण गर्ने निर्णय गरिएको हो।
निर्णयअनुसार तोकिएको अवधिसम्म रसुवा, नुवाकोट र धादिङका स्वास्थ्य बीमा सेवा प्रदायक स्वास्थ्य संस्थामा बिमितले स्वास्थ्य सेवा लिँदा लाग्ने सहभुक्तानी (को-पेमेन्ट) तथा क्यापिङ हटाइनेछ।
त्यसैगरी, विपद्का कारण स्वास्थ्य बीमा परिचयपत्र साथमा नभएका बिमितलाई पनि सेवा लिनबाट वञ्चित नगरिने बोर्डले जनाएको छ। परिचयपत्र नभएको अवस्थामा स्वास्थ्य बीमा सेवा प्रदायक संस्थालाई उपलब्ध गराइएको IMIS-User प्रणालीमार्फत बिमितको स्वास्थ्य बीमा नम्बर यकिन गरी सेवा उपलब्ध गराउन बोर्डले निर्देशन दिएको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट तथा प्रवक्ता डा. पवनकुमार साहले सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई निर्णय कार्यान्वयन गरी विपद् प्रभावित नागरिकलाई स्वास्थ्य बीमा सेवा सहज रूपमा उपलब्ध गराउन आग्रह गर्नुभएको छ।
बाढीबाट प्रभावित नागरिकलाई उपचारका क्रममा आर्थिक तथा प्रक्रियागत कठिनाइ नहोस् भन्ने उद्देश्यले बोर्डले यस्तो व्यवस्था गरेको जनाएको छ।

भरतपुर अस्पताल विकास समिति अध्यक्ष पदका लागि ११ उम्मेदवार अन्तर्वार्तामा छनोट
मंगलबार, भदौ २३, २०८३
नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान
मंगलबार, भदौ २३, २०८३
बाढीपीडितका लागि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
मंगलबार, भदौ २३, २०८३
