नेपाल हेल्थ न्युज, झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि आगामी असोज ५ गतेदेखि खोप अभियान सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आगामी असोज ५ देखि १९ गतेसम्म सञ्चालन हुने अभियानमा जिल्लाका १५ वटै पालिकाका ३० वर्षमाथिका करिब चार लाख ९३ हजार ३१९ नागरिकलाई खोप लगाउने लक्ष्य राखिएको छ ।
झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा चार महिला र दुई पुरुष गरी छ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्क्रमण र मृत्युदर बढेपछि उच्च सतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख बृजकुमार दासका अनुसार अभियानका लागि आवश्यक खोपको भण्डारण तथा व्यवस्थापनको काम अघि बढाइएको छ । जिल्लामा सबैभन्दा बढी जेई सङ्क्रमित मेचीनगर नगरपालिकामा भेटिएको छ । खोप अभियान पनि मेचीनगरबाट नै सुरु हुनेछ ।
एक स्थानीय तहमा बढीमा सात दिनसम्म खोप सेवा सञ्चालन गर्ने तयारी गरिएको दासले बताउनुभयो । उहाँका अनुसार खोप लगाउँदा सामान्य असर देखिन सक्ने भए पनि यसले स्वास्थ्यमा ठुलो समस्या पार्ने छैन ।
खोपलाई सहज र पहुँचयोग्य बनाउन प्रत्येक वडामा खोप केन्द्र स्थापना गरिनेछ । अभियानमा महिला स्वास्थ्य स्वयंसेविका तथा खोपकर्मी परिचालन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । रासस
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
नेपाल नेत्रज्योति सङ्घलाई डब्लुएचओको ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड
मंगलबार, भदौ २३, २०८३
