नेभिगेशन

नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा

नेपाल हेल्थ न्युज, काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ। उपकरण जडानमा भएको ढिलाइका कारण वर्षौंदेखि रोकिएको सेवा सञ्चालनमा आएसँगै मधेस प्रदेशसहित आसपासका जिल्लाका बिरामीले अस्पतालबाटै मुटुरोगसम्बन्धी विशिष्टीकृत उपचार सेवा पाउने भएका छन्।

अस्पतालका अनुसार २०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो समयसम्म जडान हुन नसक्दा सेवा सञ्चालनमा आउन सकेको थिएन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि गत असारदेखि जडान प्रक्रिया अघि बढाइएको थियो।

जडान प्रक्रिया सम्पन्न भएपछि भदौ १० गतेदेखि क्याथ ल्याब औपचारिक रूपमा सञ्चालनमा आएको हो। सेवा सञ्चालनमा आएसँगै मुटुसम्बन्धी जटिल रोगको परीक्षण तथा उपचारका लागि बिरामीले अन्य अस्पताल वा प्रदेशबाहिर जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

क्याथ ल्याब सञ्चालनमा आएपछि मधेस प्रदेश तथा आसपासका जिल्लाका सेवाग्राहीलाई आफ्नै प्रदेशमा मुटुरोगसम्बन्धी विशिष्टीकृत सेवा सहज रूपमा उपलब्ध हुने भएको छ। यसबाट उपचारका लागि टाढा जानुपर्ने, अतिरिक्त खर्च व्यहोर्नुपर्ने तथा समय लाग्ने समस्या समेत कम हुने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट