नेभिगेशन

अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै

नेपाल हेल्थ न्युज, काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज जाने भएको छ।

मन्त्रालयका तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी पनि छानबिन टोलीसँगै राजविराज जाने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले घटनाका सम्बन्धमा अस्पतालसँग स्पष्टीकरणसमेत मागेको छ। स्थलगत रूपमा छानबिन गरी घटनाको वास्तविकता बाहिर ल्याइने र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।

यसैबीच, घटनाबारे अस्पतालले समेत छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। मन्त्रालयले घटनाको विस्तृत अध्ययन तथा आवश्यक छानबिन प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट