नेभिगेशन

कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’

नेपाल हेल्थ न्युज,  कर्णाली । कर्णाली प्रदेश अस्पतालमा कार्यरत छात्रवृत्ति तथा करारमा रहेका चिकित्सकहरूले सेवा–सुविधा र प्रोत्साहन भत्ताको विषयमा स्पष्ट निर्णय नभएको भन्दै पेन डाउन (काम ठप्प) गर्ने घोषणा गरेका छन्।

अस्पतालका स्वास्थ्य सेवा व्यवस्थापकलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरूले लामो समयदेखि आफूहरूका मागबारे पटक-पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायले ठोस कदम नचालेको गुनासो गरेका छन्।

अस्पष्ट नीति र अन्योलपूर्ण वातावरणमा नियमित स्वास्थ्य सेवा दिन नसकिने जनाउँदै चिकित्सकहरूले असोज १ गतेदेखि सम्पूर्ण सेवा रोक्ने चेतावनी दिएका हुन्।

कर्णालीका दुर्गम क्षेत्रमा खटिएका चिकित्सकहरूका लागि न्यायोचित र पारदर्शी व्यवस्था नभएसम्म आन्दोलन जारी रहने उनीहरूको भनाइ छ। यस निर्णयका कारण बिरामी तथा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति चिकित्सकहरूले क्षमायाचना समेत गरेका छन्।

उक्त आन्दोलनको घोषणा गर्नेहरूमा डा. सागर ढकाल, डा. बिक्की कुँ. गुप्ता, डा. नवीन बटाला, डा. सुनील सिंह, डा. सुरज प्रसाद साह, डा. धुरोज गुरुङ र पारस पोखरेल रहेका छन्। उनीहरूले आफ्ना माग शीघ्र सम्बोधन गरी सहजीकरण गरिदिन सम्बन्धित निकायसँग पुनः माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट