नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका ३९ वटा तालिमप्राप्त रक्तसञ्चार केन्द्रलाई आफ्नो केन्द्रमा रहेको रगत तथा रक्त तत्वको मौज्दात विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न निर्देशन दिएको छ।
मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालित ट्रयाकिङ एन्ड डोनर म्यानेजमेन्ट सिस्टम (बीटीडीएमएस) मा रगत तथा रक्त तत्वको मौज्दात विवरण तत्काल र नियमित रूपमा प्रविष्ट गर्न निर्देशन दिएको हो।
बीटीडीएमएसमा रगत तथा रक्त तत्वको मौज्दातसम्बन्धी विवरण रियल टाइम डेटाका रूपमा प्रविष्ट गरी नियमित रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था छ। तर केही रक्तसञ्चार केन्द्रले मौज्दात विवरण सही र समयमै अद्यावधिक नगरेको गुनासो आएपछि मन्त्रालयले सम्बन्धित केन्द्रलाई ताकेता गरेको जनाएको छ।
मन्त्रालयले रक्तसञ्चार केन्द्रका प्रमुख तथा जिम्मेवार कर्मचारीलाई आफ्नो केन्द्रमा उपलब्ध रगत तथा रक्त तत्वको विवरण प्रणालीमा शुद्ध, पूर्ण र समयमै प्रविष्ट भएको सुनिश्चित गर्न निर्देशन दिएको छ।
रगतको मौज्दात विवरण नियमित रूपमा अद्यावधिक भएपछि सर्वसाधारणले आफूलाई आवश्यक रक्त समूहको रगत कुन रक्तसञ्चार केन्द्रमा कति मात्रामा उपलब्ध छ भन्ने जानकारी सहजै प्राप्त गर्न सक्नेछन्। मन्त्रालयका अनुसार यस्तो विवरण मन्त्रालयको वेबसाइटमा रहेको ब्लड बैंक सेवा तथा नागरिक एप मार्फत समेत हेर्न सकिने व्यवस्था गरिएको छ।
रगतको मौज्दातसम्बन्धी वास्तविक समयको विवरण उपलब्ध हुँदा बिरामी तथा आफन्तले आवश्यक रक्त समूहको खोजीमा विभिन्न रक्तसञ्चार केन्द्र धाउनुपर्ने बाध्यता कम हुने मन्त्रालयको अपेक्षा छ।
मन्त्रालयले बीटीडीएमएसमा मौज्दात विवरणको नियमित र सही अद्यावधिकले रक्तसञ्चार सेवालाई थप प्रभावकारी, पारदर्शी तथा नागरिकमैत्री बनाउन सहयोग पुग्ने जनाएको छ।
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३
बिदा स्वीकृत नगरी लामो समय अनुपस्थित दुई स्टाफ नर्समाथि कारबाहीको तयारी
बिहीबार, असोज १, २०८३
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
