नेपाल हेल्थ न्युज, काठमाडौं । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्नातकोत्तर आवासीय चिकित्सकहरूले विभिन्न माग राख्दै आइतबार बिहानदेखि अस्पतालको प्रवेशद्वार अगाडि प्रदर्शन गरेका छन्।
बिहान १० बजेदेखि प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले ‘दादागिरी बन्द गर’, ‘पैसा लुट्न पाइँदैन’, ‘तानाशाही चल्दैन’, ‘सहमति कार्यान्वयन गर’ र ‘गलत निर्णय फिर्ता गर’ लगायतका नारा लगाएका छन्।
चिकित्सकहरूले गत भदौ ३१ गतेदेखि छबुँदे माग अघि सार्दै आन्दोलन गर्दै आएका छन्। आन्दोलनकै क्रममा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले स्नातकोत्तर तहका प्रथम वर्षका आवासीय चिकित्सकलाई अस्पताल प्रवेशमा रोक लगाएपछि उनीहरू अस्पतालको प्रवेशद्वारमै प्रदर्शन गर्न बाध्य भएको बताएका छन्।
आन्दोलनरत चिकित्सकमध्येकी डा. निसा महर्जनका अनुसार असोज २ गते अस्पताल प्रशासनले प्रधानाचार्यको कार्यकक्षमा बोलाएर उनीहरूसँग आफ्ना माग लिखित रूपमा हस्ताक्षर गरी दिन आग्रह गरेको थियो।
“हामीले मागहरू लिखित रूपमा हस्ताक्षरसहित बुझायौँ। तर माग पूरा गर्नुको सट्टा चिकित्सकहरूसँग सहमति भएको भन्दै त्यसलाई दुरुपयोग गर्न खोजिएको छ,” महर्जनले भनिन्। आफूहरूले बुझाएको मागपत्र माथिल्लो निकायमा पठाएर अस्पताल प्रशासनले आन्दोलन कमजोर बनाउने प्रयास गरेको आरोप पनि उनले लगाइन्।
यसैबीच, असोज ८ गते नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्रथम वर्षका स्नातकोत्तर आवासीय चिकित्सकहरूलाई अस्पतालबाट फिर्ता बोलाउन चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम), त्रिभुवन विश्वविद्यालयलाई पत्र पठाएको थियो। अस्पतालले आन्दोलनरत चिकित्सकहरूलाई छात्रावास खाली गर्न १२ घण्टे समयसीमा तोकेर सूचना समेत जारी गरेको उनीहरूको भनाइ छ।
अस्पताल प्रशासनबाट आफ्ना माग सम्बोधन हुने अवस्था नदेखिएपछि आन्दोलनरत चिकित्सकहरू असोज ६ गते काठमाडौं पुगेका थिए। काठमाडौंमा उनीहरूले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डा. मोहन राज शर्मा तथा नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजालसँग भेट गरेका थिए।
भेटका क्रममा चिकित्सकहरूले आफ्ना माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेका थिए। उनीहरूका अनुसार सम्बन्धित पदाधिकारीहरूले एक–दुई दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएका थिए।
यसअघि नेपाल चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीले असोज ६ गते संयुक्त विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकका माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका थिए। आन्दोलनरत चिकित्सकहरूले आफ्ना माग तत्काल सम्बोधन गरी अस्पतालमा नियमित रूपमा काम गर्ने वातावरण बनाउन माग गरेका छन्।
गर्भवतीको मञ्जुरीमा विशेष अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने प्रस्ताव
आइतबार, असोज ११, २०८३
सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण
आइतबार, असोज ११, २०८३


