नेभिगेशन

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

नेपाल हेल्थ न्युज, काठमाडौं । भोटेकोशी नदीले बगाएर ल्याएका मानव अङ्गको पहिचानका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा डीएनए प्रोफाइलिङको काम तीव्र गतिमा भइरहेको छ।

चिनियाँ र नेपाली वैज्ञानिकको संयुक्त टोलीले नास्टको मोलिक्युलर बायोटेक्नोलोजिकल प्रयोगशालामा मानव अङ्गका नमूनाको डीएनए परीक्षण गरिरहेको हो। हालसम्म एक हजार ४२६ वटा हाडका नमूना संकलन गरिएकोमा ६३ प्रतिशत नमूनाको डीएनए प्रोफाइलिङ सम्पन्न भइसकेको नास्टका प्रवक्ता डा. रामचन्द्र पौडेलले जानकारी दिनुभयो।

परीक्षण कार्यका लागि १५ जना चिनियाँ विज्ञ र १० जना नेपाली वैज्ञानिकसहितको टोली निरन्तर खटिएको छ। चीनले सहयोगस्वरूप उपलब्ध गराएको ¥यापिड डीएनए सिक्वेन्सिङ मेसिनबाट दुई घण्टामा दुईवटा नमूनाको डीएनए प्रोफाइलिङ गर्न सकिने भएकाले परीक्षण कार्यलाई गति दिन सहयोग पुगेको छ।

यसअघि नास्टसँग २५ क्यापिलरीको सिक्वेन्सर मात्र उपलब्ध थियो। नेपाल प्रहरीको प्रयोगशाला र राष्ट्रिय विधिविज्ञान प्रयोगशालाको क्षमताले नभ्याएपछि हाडका नमूनाको डीएनए परीक्षण गर्ने जिम्मेवारी नास्टलाई दिइएको हो।

डा. पौडेलका अनुसार हाडमा डीएनएको मात्रा कम हुने भएकाले यसको परीक्षणमा तुलनात्मक रूपमा बढी समय लाग्छ। चीनको सहयोगमा प्राप्त नयाँ उपकरणको प्रयोगबाट परीक्षण प्रक्रिया भने थप तीव्र भएको उहाँले बताउनुभयो।

डीएनए प्रोफाइलिङका क्रममा सुरुमा दाँत तथा हाडबाट डीएनए निकालिन्छ। त्यसपछि पोलिमरेज चेन रियाक्सन (पीसीआर) गरिन्छ र नमूनालाई सिक्वेन्सरमा राखेर डीएनएको गुण परीक्षण गरिन्छ।

विपद्का समयमा मानव अङ्गको पहिचान तथा अनुसन्धानमा वैज्ञानिक प्रविधिको महत्वपूर्ण भूमिका हुने भन्दै डा. पौडेलले यस्ता अनुसन्धानलाई राज्यले समेत प्राथमिकताका साथ प्रवर्धन गर्नुपर्ने बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट