नेभिगेशन

विश्व रेबिज दिवस: नेपालमा वर्षेनी करिब १०० जनाको मृत्यु, २०३० सम्म मृत्यु शून्य बनाउने लक्ष्य

नेपाल हेल्थ न्युज, काठमाडौं । ‘एकतामा शक्ति, रेबिजबाट मुक्ति’ भन्ने नाराका साथ आज विश्व रेबिज दिवस मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर २८ मा मनाइने यो दिवस रेबिजको रोकथाम, जनचेतना अभिवृद्धि तथा मानव र पशु स्वास्थ्यबीचको समन्वय सुदृढ गर्ने उद्देश्यले मनाउने गरिन्छ।

सेप्टेम्बर २८ रेबिजविरुद्धको पहिलो सफल खोप विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका वैज्ञानिक लुइ पास्चरको स्मृति दिवससमेत हो। रेबिज घातक भए पनि रोकथाम गर्न सकिने रोग हो। विश्वभर हरेक वर्ष अनुमानित ५८ हजार ९९० जनाको रेबिजका कारण मृत्यु हुने गरेको छ। तीमध्ये ४७ प्रतिशत मृत्यु दक्षिणपूर्वी एसियामा र ३२.५ प्रतिशत अफ्रिकी मुलुकमा हुने गरेको जनाइएको छ। रेबिजका कारण हुने मृत्युमा करिब ४० प्रतिशत १५ वर्षभन्दा कम उमेरका बालबालिका छन्। मानवमा हुने रेबिजका करिब ९९ प्रतिशत घटना कुकुरसँग सम्बन्धित छन्।

नेपालमा दुई लाखभन्दा बढी जनावरको टोकाइका घटना
नेपालमा पनि रेबिज महत्वपूर्ण जनस्वास्थ्य समस्याका रूपमा रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा देशभर २ लाख २३ हजार ५१० वटा जनावरको टोकाइका घटना रिपोर्ट भएका छन्। तीमध्ये करिब ९६ प्रतिशत घटना कुकुरको टोकाइबाट भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

नेपालमा प्रत्येक वर्ष करिब १०० जनाको रेबिजका कारण मृत्यु हुने अनुमान गरिएको छ। नेपालको करिब ५० प्रतिशत जनसंख्या रेबिजको उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने र बालबालिका विशेष जोखिममा रहने अवस्था रहेको मन्त्रालयले जनाएको छ। रेबिजविरुद्धको खोप सेवा विस्तार गर्ने क्रममा हाल देशभर २८६ वटा सेवा केन्द्रबाट रेबिजविरुद्धको खोप उपलब्ध गराइएको छ।

टोकेपछि घाउ १५ मिनेटसम्म धुन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुकुर, बिरालो वा अन्य सम्भावित रेबिज संक्रमित जनावरले टोकेमा वा चिथोरेमा तत्काल सावधानी अपनाउन आग्रह गरेको छ।

जनावरले टोके वा चिथोरेको अवस्थामा घाउलाई साबुन र बगिरहेको पानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुन मन्त्रालयले आग्रह गरेको छ। घाउमा खुर्सानी, तेल, माटो, जडीबुटी वा अन्य घरेलु पदार्थ नलगाउनसमेत अनुरोध गरिएको छ।

घाउ धोएपछि सम्भव भएसम्म तत्काल नजिकको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार तथा रेबिजविरुद्धको खोप सुरु गर्नुपर्ने मन्त्रालयले जनाएको छ। स्वास्थ्यकर्मीले तोकेको उपचार प्रक्रिया पूरा गर्नसमेत आग्रह गरिएको छ।

मन्त्रालयका अनुसार रेबिजका लक्षण देखिएपछि रोग सतप्रतिशत घातक हुने भएकाले लक्षण देखिने समयसम्म पर्खनु हुँदैन। जनावरले टोकेपछि समयमै उचित उपचार लिनु नै रेबिजबाट हुने मृत्यु रोक्ने प्रमुख उपाय हो।

कुकुरको नियमित खोपमा जोड
मानवमा हुने रेबिजको ठूलो हिस्सा कुकुरबाट सर्ने भएकाले कुकुरलाई नियमित रूपमा रेबिजविरुद्धको खोप लगाउने, जिम्मेवार पशुपालन गर्ने तथा कुकुरको जनसंख्या व्यवस्थापनमा ध्यान दिनुपर्नेमा मन्त्रालयले जोड दिएको छ।

नेपालले रेबिज नियन्त्रणका लागि एक स्वास्थ्य अवधारणालाई प्राथमिकतामा राखेको छ। यसअन्तर्गत मानव स्वास्थ्य, पशु स्वास्थ्य, वन्यजन्तु, वातावरण, स्थानीय तह तथा समुदायबीचको समन्वयलाई अघि बढाइएको छ।

रेबिज निवारण स्वास्थ्य क्षेत्रको मात्र जिम्मेवारी नभई सम्बन्धित सबै क्षेत्र र समुदायको साझा प्रयासबाट सम्भव हुने मन्त्रालयको भनाइ छ।

२०३० सम्म कुकुरबाट हुने मानव रेबिज मृत्यु शून्य बनाउने लक्ष्य
नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्यु शून्य बनाउने लक्ष्य लिएको छ। लक्ष्य प्राप्तिका लागि रेबिज निगरानी तथा प्रयोगशाला प्रणाली सुदृढीकरण, कुकुरको सामूहिक खोप, कुकुरको जनसंख्या व्यवस्थापन, रेबिजविरुद्धको उपचारमा पहुँच सुधार तथा समुदायमा जनचेतना अभिवृद्धिलगायतका रणनीतिक कार्य अघि बढाइएको मन्त्रालयले जनाएको छ।

सातै प्रदेशमा रेबिज निवारण रणनीति तथा रोडम्याप विकास गर्ने, उच्च जोखिम क्षेत्रमा समुदायमा आधारित जनचेतना अभिवृद्धि गर्ने तथा मानव र पशु स्वास्थ्य क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउने कार्यलाई समेत प्राथमिकता दिइएको छ।

समुदायको भूमिका महत्वपूर्ण
रेबिज रोकथामका लागि घरपालुवा कुकुर तथा बिरालोलाई नियमित खोप लगाउने, बालबालिकालाई जनावरसँग सुरक्षित व्यवहार गर्न सिकाउने र जनावरको टोकाइ वा चिथोराइपछि तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउने कार्य महत्वपूर्ण हुने मन्त्रालयले जनाएको छ।साथै, समुदायमा रेबिजसम्बन्धी सही जानकारी फैलाउन पनि आग्रह गरिएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले रेबिज घातक भए पनि रोकथाम सम्भव रहेको भन्दै जनावरले टोकेपछि तत्काल घाउ धुने, स्वास्थ्य संस्थामा जाने र आवश्यक उपचार पूरा गर्न सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट