नेपाल हेल्थ न्युज, सल्यान। सल्यानका विभिन्न स्थानीय तहमा स्क्रब टाइफसको संक्रमण फैलिएको छ। जिल्लामा हालसम्म ३५५ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। संक्रमणका कारण दार्मा गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको छ भने रोगको जटिलताका कारण सोही गाउँपालिकाका आठ जनाको मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।
संक्रमण फैलिएको जानकारी पाएलगत्तै स्वास्थ्य सेवा कार्यालय सल्यानले सम्बन्धित स्थानीय तह, प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गरी प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य समूह परिचालन गरेको थियो।
स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाका सरकारी स्वास्थ्य संस्थामा हालसम्म एक हजार ७०९ जनाको स्क्रब टाइफस परीक्षण गरिएकोमा २६९ जनामा संक्रमण पुष्टि भएको छ। सरकारी स्वास्थ्य संस्थामा परीक्षण गरिएका बिरामीमध्ये संक्रमण दर १५ दशमलव ७४ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत तारा रिजालले जानकारी दिनुभयो।
निजी क्षेत्रका स्वास्थ्य संस्थामध्ये बागचौर नगरपालिकाबाट मात्रै परीक्षणसम्बन्धी तथ्यांक संकलन भएको छ। बागचौरस्थित निजी स्वास्थ्य संस्थामा ३३१ जनाको परीक्षण गर्दा ८६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट प्राप्त तथ्यांकअनुसार जिल्लामा संक्रमितको कुल संख्या ३५५ पुगेको हो।
उपलब्ध तथ्यांकअनुसार पुरुषको तुलनामा महिलामा स्क्रब टाइफस संक्रमण बढी देखिएको छ। जिल्लामा संक्रमित ३५५ जनामध्ये २४४ जना महिला छन् भने १११ जना पुरुष रहेका छन्। संक्रमितमध्ये महिलाको संख्या ६८ दशमलव ७३ प्रतिशत र पुरुषको संख्या ३१ दशमलव २७ प्रतिशत रहेको छ। महिलाहरू घाँस, दाउरा, कृषि कार्य तथा पशुपालनमा बढी प्रत्यक्ष रूपमा संलग्न हुने भएकाले उनीहरू स्क्रब टाइफसको उच्च जोखिममा परेको हुनसक्ने स्वास्थ्यकर्मीको अनुमान छ।
जिल्लाका स्थानीय तहमध्ये दार्मा गाउँपालिका स्क्रब टाइफसबाट सबैभन्दा बढी प्रभावित भएको छ। स्वास्थ्य सेवा कार्यालयका निमित्त व्यवस्थापक डा. प्रतिभा विकका अनुसार दार्मामा ५३२ जनाको परीक्षण गर्दा ११६ जनामा संक्रमण पुष्टि भएको छ। दार्मामा स्क्रब टाइफसको जटिलताका कारण मृत्यु भएका आठै जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा एक महिला र सात पुरुष रहेका छन्।
त्यस्तै, बागचौर नगरपालिकामा सरकारी तथा निजी स्वास्थ्य संस्थाको तथ्यांकअनुसार १६४ जनामा संक्रमण पुष्टि भएको छ। कुमाख गाउँपालिकामा २२ जना संक्रमित भएका छन् भने बनगाड कुपिण्डे नगरपालिकामा परीक्षण गरिएका सातै जनामा संक्रमण पुष्टि भएको छ। कालिमाटी गाउँपालिकामा दुई जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ।
छत्रेश्वरी गाउँपालिकामा पनि स्क्रब टाइफसका संक्रमित भेटिएको सम्बन्धित पालिकाका स्वास्थ्य संस्थाले जानकारी गराएका छन्। तर, त्यससम्बन्धी यकिन तथ्यांक भने जिल्ला स्वास्थ्य कार्यालयमा प्राप्त भइसकेको छैन। कपुरकोट र त्रिवेणी गाउँपालिकासँग समेत सम्पर्क हुन नसकेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। हालसम्म सिद्धकुमाख गाउँपालिका र शारदा नगरपालिकामा भने स्क्रब टाइफस संक्रमण नदेखिएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
काभ्रेमा दुई महिनामा ४१ जनामा डेङ्गी सङ्क्रमण पुष्टि
सोमबार, असोज १२, २०८३
जनसंख्या वृद्धिका लागि सुत्केरी बिदामा प्रोत्साहन : मन्त्री मेहता
सोमबार, असोज १२, २०८३
मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ
सोमबार, असोज १२, २०८३

