नेभिगेशन

जनसंख्या वृद्धिका लागि सुत्केरी बिदामा प्रोत्साहन : मन्त्री मेहता

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत महिलालाई सुत्केरी हुनुअघि र पछि गरी ६ महिनाको तलबसहितको बिदा दिने व्यवस्था प्रस्ताव गरिएको बताउनुभएको छ।

मन्त्री मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ सहित ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको हो।

प्रस्तावित व्यवस्थाअनुसार सरकारी, गैरसरकारी तथा निजी निकायमा कार्यरत महिलाले सुत्केरी हुनुअघि र पछि गरी ६ महिनासम्म तलबसहितको प्रसूति बिदा पाउनेछन्।

यस्तै, पुरुष कर्मचारीकी पत्नी सुत्केरी भएमा ४२ दिनको तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्था पनि प्रस्ताव गरिएको मन्त्री मेहताले जानकारी दिनुभयो।

मन्त्री मेहताका अनुसार पछिल्ला जनगणनाले नेपालको जनसङ्ख्या वृद्धिदर निरन्तर घट्दो क्रममा रहेको देखाएको छ। घट्दो जनसङ्ख्या वृद्धिदरलाई सम्बोधन गर्दै जनसङ्ख्या वृद्धि प्रोत्साहन गर्ने उद्देश्यले विद्यमान कानुनी व्यवस्थामा संशोधन गर्न लागिएको उहाँले बताउनुभयो।

प्रस्तावित कानुनी व्यवस्थाले सुत्केरी तथा नवजात शिशुको हेरचाहका लागि अभिभावकलाई थप समय उपलब्ध गराउने र जनसङ्ख्या वृद्धिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट