नेभिगेशन

कार्यसमय र सेवा सुविधाको विवादमा पिपल्स डेन्टलका चिकित्सक आन्दोलनमा

नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौंस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा कार्यरत चिकित्सक तथा कर्मचारीहरू सेवा सुविधा र श्रम अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

कलेज व्यवस्थापनले भदौ २४ गतेदेखि लागू हुने गरी बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्मको नयाँ कार्यसमय एकपक्षीय रूपमा लागू गरेपछि चिकित्सक तथा कर्मचारी र व्यवस्थापनबीच विवाद उत्पन्न भएको हो।

आन्दोलनरत चिकित्सकहरूले विगत १२ वर्षदेखि पारिश्रमिक पुनरवलोकन नभएको, नियुक्ति सम्झौतामा उल्लेख भएको कार्यसमय कार्यान्वयन नभएको तथा श्रम ऐनले सुनिश्चित गरेका न्यूनतम सुविधाबाट समेत आफूहरू वञ्चित भएको बताएका छन्।

उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म शैक्षणिक तथा अस्पतालका सम्पूर्ण काम गर्न असमर्थ हुने जानकारी कलेजका प्रबन्ध निर्देशकलाई गराएका छन्।चिकित्सक तथा कर्मचारीहरूले तोकिएको कार्यसमय पालना, वार्षिक तलब वृद्धि (ग्रेड), महँगी भत्ता, सञ्चय कोष, उपदान, सामाजिक सुरक्षा कोषमा आबद्धता, बीमा सुविधालगायतका २० बुँदे माग अघि सारेका छन्।

आन्दोलनरत चिकित्सकहरूले आफूहरू पूर्ववत् बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्मको कार्यसमयअनुसार निरन्तर सेवा दिइरहेको दाबी गरेका छन्। माग सम्बोधनका लागि पहल गर्नुको सट्टा मानसिक तनाव दिने काम भएको भन्दै उनीहरूले समाधानका लागि श्रम कार्यालय टेकुमा समेत निवेदन दिएका छन्।

माग सम्बोधन नभए कालो पट्टी बाँध्ने, ओपिडी तथा शैक्षिक गतिविधि बहिष्कार गर्ने र त्यसपछि अनिश्चितकालीन आन्दोलनमा जाने चेतावनी चिकित्सक तथा कर्मचारीहरूले दिएका छन्। यता, कलेज व्यवस्थापनले भने आन्दोलनरत चिकित्सकहरूमाथि अनुशासनहीनता गरेको तथा अस्पतालको सेवा प्रभावित पारेको आरोप लगाएको छ।

व्यवस्थापनले तोकिएको समयअघि नै हाजिरबाट निस्किएको र सामूहिक रूपमा काम गर्न अस्वीकार गरेको भन्दै श्रम ऐन, २०७४ को दफा १३१ बमोजिम खराब आचरणसम्बन्धी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ। सम्बन्धित चिकित्सकहरूलाई सात दिनभित्र सबुत प्रमाणसहित लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

त्यसैगरी, केही चिकित्सकको एक दिनको पारिश्रमिक कट्टा गर्ने कदमसमेत व्यवस्थापनले चालेको बताइएको छ। व्यवस्थापन र चिकित्सक–कर्मचारीबीचको विवाद बढ्दै जाँदा अस्पतालको नियमित सेवा प्रभावित हुने अवस्था सिर्जना भएको छ।

स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा कार्यसमय, पारिश्रमिक तथा श्रम अधिकारका विषयमा विवाद बढेपछि यसको प्रत्यक्ष असर बिरामीको उपचार सेवामा पर्न सक्ने देखिएको छ। विवाद समाधानका लागि दुवै पक्षबीच तत्काल वार्ता गरी अस्पतालको सेवा निरन्तरता र श्रमिकका अधिकार दुवैलाई ध्यानमा राखेर दीर्घकालीन समाधान खोज्नुपर्ने देखिन्छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट