नेपाल हेल्थ न्युज, बर्दिबास । सरकारी अस्पतालमा रेबिजविरुद्धको एन्टी रेबिज भ्याक्सिन (एआरभी) अभाव भएपछि महोत्तरीको बर्दिबास क्षेत्रका कुकुर तथा अन्य जनावरको टोकाइका पीडित निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन्।
बर्दिबास अस्पतालमा भदौदेखि नै एआरभी खोप अभाव रहेको अस्पतालले जनाएको छ। खोपको मागअनुसार प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्र, जनकपुरबाट आपूर्ति हुन नसक्दा बिरामी समस्यामा परेका हुन्।
गत साता बर्दिबास नगरपालिका–२ का ७२ वर्षीय नीलप्रसाद गौतमलाई बर्दिबास–जलेश्वर सडकखण्डमा भुस्याहा कुकुरले खुट्टामा टोकेको थियो। सोही कुकुरले वडा नं. १ की बालिका विनिता श्रेष्ठलाई पनि टोकेको थियो। स्थानीयका अनुसार उक्त कुकुरले दर्जनभन्दा बढीलाई टोकेको छ। कुकुर नियन्त्रणमा नआएकाले थप मानिस प्रभावित हुन सक्ने स्थानीयको भनाइ छ।
कुकुरको टोकाइपछि बर्दिबास अस्पताल पुगेका गौतमले अस्पतालमा एआरभी खोप नपाएपछि निजी स्वास्थ्य संस्था शुभ स्वस्तिक अस्पतालमा शुल्क तिरेर खोप लगाउनुपरेको बताउनुभयो। उहाँजस्तै बर्दिबास क्षेत्रका ५० भन्दा बढी कुकुरको टोकाइका पीडित निजी स्वास्थ्य संस्था तथा क्लिनिकमा पुगिरहेका छन्।
बर्दिबास अस्पतालका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउन र भदौमा मात्रै कुकुर, स्याल, बिरालो तथा बाँदरले टोकेका ३५३ जना उपचारका लागि अस्पताल आएका थिए। उनीहरूका लागि ५३० डोज एआरभी आवश्यक पर्ने भए पनि स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रले दुई महिनामा २४० भाइल मात्र उपलब्ध गराएको थियो।
अस्पतालको खोप शाखाका प्रमुख अर्जुन साहका अनुसार आवश्यकताभन्दा ११३ भाइल खोप कम भएपछि बिरामीलाई समस्या भएको हो। असोज ९ गतेसम्म थप ४० जना एआरभी लगाउन अस्पताल पुगे पनि नयाँ खोप आपूर्ति नभएको उहाँले बताउनुभयो।
साहका अनुसार बर्दिबास अस्पतालमा वर्षमा करिब तीन हजार जना रेबिजविरुद्धको खोप लगाउन आउने गर्छन्। एक जना बिरामीलाई सामान्यतया तीन डोज आवश्यक पर्ने भएकाले मागअनुसार खोप उपलब्ध नहुँदा समस्या थपिएको उहाँको भनाइ छ।
खोपको अभाव चर्किएपछि बर्दिबास नगरपालिकाले अस्पताललाई १०० भाइल एआरभी उपलब्ध गराएको थियो। तर, बिरामीको चाप बढेपछि उक्त खोप पनि केही दिनमै सकिएको अस्पतालले जनाएको छ।
बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रितेश घिमिरेले रेबिज प्राणघातक रोग भएकाले जोखिममा परेका व्यक्तिले समयमै खोप लगाउनुपर्ने बताउनुभयो। रेबिजको संक्रमण केन्द्रीय स्नायु प्रणालीमा फैलिएपछि उपचार सम्भव नहुने भएकाले खोप अभाव गम्भीर विषय भएको उहाँको भनाइ छ।
मधेस प्रदेशका स्वास्थ्य सचिव डा। प्रमोदकुमार यादवका अनुसार महोत्तरीमा मात्र नभई प्रदेशभर नै एआरभी खोपको अभाव छ। मधेस प्रदेशमा वार्षिक ५० हजारभन्दा बढी एआरभी खोप आवश्यक पर्ने भए पनि टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखाबाट १५ देखि २० हजार डोज मात्र आपूर्ति हुने गरेको उहाँले बताउनुभयो।
प्रदेश सरकारले खोपको आपूर्ति बढाउन सम्बन्धित निकायलाई आग्रह गर्दै आएको जनाएको छ। साथै, चालु आर्थिक वर्षमा रेबिज तथा सर्पदंशविरुद्धको खोप खरिदका लागि मधेस सरकारले एक करोड रुपैयाँ बजेट छुट्याएको र ठेक्का प्रक्रियामार्फत खोप आपूर्ति सहज बनाउने प्रयास भइरहेको सचिव यादवले जानकारी दिनुभयो।
नेपालले सन् २०३० सम्ममा कुकुरको टोकाइबाट हुने रेबिज उन्मूलन गर्ने लक्ष्य लिएको भए पनि सरकारी स्वास्थ्य संस्थामै एआरभी खोपको अभाव हुँदा सर्वसाधारणले निजी संस्थामा महँगो शुल्क तिर्नुपर्ने अवस्था सिर्जना भएको छ।
बीपी क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान
बुधबार, असोज १४, २०८३
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोथेरापी सेवा पुनः सञ्चालनमा
बुधबार, असोज १४, २०८३
बिरामीको मृत्यु भएपछि बीपी प्रतिष्ठानमा तोडफोड
बुधबार, असोज १४, २०८३
डाेटी अस्पतालकाे शाैचालयमा स्वास्थ्यकर्मी मृत फेला
बुधबार, असोज १४, २०८३
