नेपाल हेल्थ न्युज, झापा । मेचीनगर नगरपालिकाको अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई अस्पताल र दुई क्लिनिकमा बुधबार सिलबन्दी गरेको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभास श्रेष्ठको नेतृत्वको टोलीले चारआली र धुलाबारी क्षेत्रमा मापदण्डविपरीत चलेका स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो । चारआलीस्थित मनोकामना अस्पताल र धुलाबारीस्थित शिखर अस्पतालले एक वर्षदेखि नवीकरण नगरी सञ्चालन गरेको पाइएकाले सिलबन्दी गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यसअघि नै मनोकामना अस्पताललाई दर्ता र नवीकरणका लागि पटकपटक पत्राचार गरिएको भए पनि बेवास्ता गरेकाले कारबाही गर्नुपरेको हो ।”
त्यसैगरी, धुलाबारीमा सञ्चालित प्रतिभा जमुना मेडिकल र न्यू मिलन मेडिकलले प्रयोगशाला (ल्याब) र क्लिनिक दर्ता नगरी सञ्चालन गरेको पाइएपछि सिलबन्दी गरिएको छ । प्रतिभा जमुना मेडिकलबाट म्याद गुज्रिएका औषधि फेला परेपछि जफत गरिएको छ ।
यस्तै, रोहन मेडिकल र मनकामना फार्मेसीबाट पनि म्याद गुज्रिएका औषधि भेटिएको छ । ती औषधि बरामद गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो, “कानुन विपरीत सञ्चालन भएका यी स्वास्थ्य संस्थालाई स्थानीय पालिकाले जरिवाना गराउनेछ र फार्मेसी सञ्चालकलाई थप कारबाहीका लागि औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरमा पत्र पठाइनेछ ।”
स्वास्थ्य संस्था, क्लिनिक र प्रयोगशालाले कानुनअनुसार विधिवत् रूपमा दर्ता गरेपछि मात्र सिलबन्दी खोलिने उहाँको भनाइ छ ।
मापदण्ड विपरीत सञ्चालित बुढानीलकण्ठको आयुर्वेद संस्था बन्द
बिहीबार, असोज १५, २०८३
तीन महिनाभित्र स्वास्थ्य सेवा निःशुल्क नभए आमरण अनशन बस्ने सांसद तामाङको चेतावनी
बिहीबार, असोज १५, २०८३
डा. विश्वराज दवाडी कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित
बिहीबार, असोज १५, २०८३
छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य
बिहीबार, असोज १५, २०८३
