नेभिगेशन

मापदण्ड विपरीत सञ्चालित बुढानीलकण्ठको आयुर्वेद संस्था बन्द

नेपाल हेल्थ न्युज, काठमाडौं । आयुर्वेद चिकित्सा परिषद्–नेपालले ‘आयुर्वेद स्वास्थ्य संस्थाहरूको सेवा स्तर तथा सञ्चालन मापदण्ड निर्देशिका’ विपरीत सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई क्रमशः बन्द गर्ने चेतावनी दिएको छ।

परिषद्ले आयुर्वेदसँग सम्बन्धित संस्थाहरूको नियमित निरीक्षण तथा अनुगमन गर्दै आएको जनाउँदै तोकिएको मापदण्डअनुसार मात्रै संस्था सञ्चालन गर्न सञ्चालकहरूलाई आग्रह गरेको हो।

परिषद्का अनुसार स्थलगत अनुगमनका क्रममा काठमाडौंको बूढानीलकण्ठ–८, गणेशचोकमा सञ्चालित एक आयुर्वेद स्वास्थ्य संस्था तोकिएको मापदण्डअनुसार सञ्चालन नभएको पाइएपछि केही दिनअघि बन्द गरिएको छ।

परिषद्ले मापदण्ड पूरा गरी सञ्चालन भइरहेका संस्थालाई प्रोत्साहन गर्ने जनाएको छ। तर, पटक–पटक सुझाव तथा निर्देशन दिँदा समेत अटेर गरी मापदण्डविपरीत सञ्चालन भइरहेका संस्थालाई भने क्रमशः बन्द गर्न परिषद् बाध्य हुने सूचनामा उल्लेख छ।

परिषद्ले आयुर्वेद स्वास्थ्य संस्थाका सञ्चालकहरूलाई तोकिएको मापदण्डअनुसार संस्था सञ्चालन गर्न र परिषद्को निरीक्षण तथा अनुगमन कार्यमा आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

परिषद्का रजिष्ट्रार डा. हरि शरण अर्यालद्वारा बिहीबार जारी सूचनामार्फत सम्बन्धित सबैलाई मापदण्डको पालना गर्न आग्रह गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट