नेभिगेशन

२४ घण्टे ड्युटीपछि रेजिडेन्ट चिकित्सकलाई अनिवार्य विश्राम दिन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) हरूलाई लगातार २४ घण्टा ड्युटी पूरा गरेपछि अनिवार्य रूपमा पर्याप्त विश्रामको व्यवस्था मिलाउन विभाग प्रमुख तथा कार्यक्रम निर्देशकहरूलाई निर्देशन दिएको छ।

नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगका निर्देशन तथा पत्रलाई आधार बनाउँदै प्रतिष्ठानको स्कूल अफ मेडिसिनका डीन डा. आशिष श्रेष्ठले सूचना जारी गर्दै उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो।

प्रतिष्ठानले सक्षमतामा आधारित चिकित्सा शिक्षा सञ्चालन गर्दै आएको उल्लेख गर्दै रेजिडेन्ट चिकित्सकहरूको दक्षता, व्यावसायिक निष्ठा तथा सिकाइका अवसर सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन भनेको छ।

पीजी कार्यक्रम सक्षमतामा आधारित भएकाले निर्धारित अवधिभित्र तोकिएका सक्षमता हासिल हुने गरी शिक्षण–सिकाइ तथा निर्माणात्मक मूल्याङ्कनसम्बन्धी गतिविधिहरूलाई समयबद्ध, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न पनि प्रतिष्ठानले निर्देशन दिएको छ।

प्रतिष्ठानका अनुसार रेजिडेन्ट चिकित्सकहरूको कार्यसमय र विश्रामलाई व्यवस्थित गर्नु उनीहरूको सिकाइ, व्यावसायिक विकास तथा सेवा प्रवाहसँग समेत सम्बन्धित विषय भएकाले सम्बन्धित विभाग र कार्यक्रमले आवश्यक समन्वय गरी व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ