नेभिगेशन

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा. मुनकर्ण थापा

नेपाल हेल्थ न्युज, काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा वरिष्ठ आयुर्वेद विज्ञ डा. मुनकर्ण थापा नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गरेको निर्णयअनुसार डा. थापालाई समितिको नेतृत्वको जिम्मेवारी दिइएको हो। नयाँ नेतृत्वसँगै वैद्यखानाको औषधि उत्पादन क्षमता वृद्धि, कच्चा पदार्थको प्रभावकारी व्यवस्थापन तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ।

आयुर्वेद क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका डा. थापा नेपाल सरकारको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञका रूपमा कार्यरत रहनुभएको थियो।

उहाँले २०४४ सालदेखि सरकारी स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको हो। सेवा अवधिमा उहाँले दोलखा, ओखलढुङ्गा, सिन्धुपाल्चोक, नुवाकोट, सिन्धुली र धादिङलगायत विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो।

आयुर्वेद तथा स्वास्थ्य सेवाको क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप डा. थापालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७९ सालमा स्वास्थ्य सेवा पुरस्कारसमेत प्रदान गरेको थियो। उहाँ मन्त्रालयअन्तर्गतका विभिन्न कार्यदलमा रहेर संगठन संरचना निर्माण, जनशक्ति आवश्यकता प्रक्षेपण तथा उपचारसम्बन्धी काममा पनि संलग्न रहनुभएको थियो।

यसैबीच, सिंहदरबार वैद्यखानाले पछिल्ला वर्षमा आफ्नो औषधि उत्पादन विस्तार गर्दै आएको छ। २०७७ सालमा १२ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको वैद्यखानाबाट हाल ८६ प्रकारका औषधि उत्पादन भइरहेको बताइएको छ।

उत्पादित औषधिमध्ये ३० प्रकार सरकारी औषधालयमार्फत वितरण तथा आपूर्ति हुँदै आएका छन्। नयाँ नेतृत्वले औषधि उत्पादन, सेवा विस्तार र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट