नेभिगेशन

नेशनल मेडिकल कलेजबारे सांसद अन्सारीको आरोपप्रति निजी मेडिकल कलेज एसोसिएशनको आपत्ति

नेपाल हेल्थ न्युज, काठमाडौं । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद रहबर अन्सारीले प्रतिनिधिसभामा लगाएको आरोपप्रति निजी मेडिकल तथा डेण्टल कलेज एसोसिएशन अफ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ।

सांसद अन्सारीले नेशनल मेडिकल कलेजले काम नगर्ने व्यक्तिलाई संकाय सदस्यका रूपमा देखाएर स्नातकोत्तर (पीजी) सिट लिएको, चिकित्सा शिक्षा आयोगको निरीक्षणका क्रममा नक्कली बिरामी प्रस्तुत गरेको तथा कलेजमा भएका अनियमितताविरुद्ध आवाज उठाउने विद्यार्थीको अध्ययन र आवासमा अवरोध गरिएको आरोप लगाएका थिए।

एसोसिएशनले चिकित्सा शिक्षाको गुणस्तर नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले यस्ता आरोपमाथि निष्पक्ष र तथ्यपरक अनुसन्धान आवश्यक रहेको जनाएको छ। अनियमितता भएको प्रमाणित भएमा सम्बन्धित नियामक निकायमार्फत कानुनबमोजिम कारबाही हुनुपर्ने एसोसिएशनको धारणा छ।

तर, ‘आरोप र प्रमाणित तथ्य एउटै होइन’ भन्दै एसोसिएशनले अधिकारप्राप्त निकायबाट छानबिन भई आधिकारिक निष्कर्ष सार्वजनिक नहुँदासम्म आरोपलाई नै स्थापित तथ्यका रूपमा प्रस्तुत नगर्न आग्रह गरेको छ।

एसोसिएशनका अनुसार प्रमाणित नभएका आरोपलाई तथ्यका रूपमा प्रस्तुत गर्दा सम्बन्धित शिक्षण संस्थाको प्रतिष्ठामा असर पर्नुका साथै विद्यार्थीको मनोबल र भविष्य, चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत प्रतिष्ठा र बिरामीको स्वास्थ्य संस्थाप्रतिको विश्वासमा समेत नकारात्मक प्रभाव पर्न सक्छ।

एसोसिएशनले सार्वजनिक रूपमा उठेका विषयमा शीघ्र, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न चिकित्सा शिक्षा आयोग, सम्बन्धित विश्वविद्यालय, नेपाल मेडिकल काउन्सिललगायत अधिकारप्राप्त निकायलाई आग्रह गरेको छ।

त्यस्तै, विद्यार्थीको भविष्य, बिरामीलाई प्रदान गरिने स्वास्थ्य सेवा तथा नेपालको चिकित्सा शिक्षाप्रतिको सार्वजनिक विश्वासलाई केन्द्रमा राख्दै सम्बन्धित सबै पक्षलाई संयमित, जिम्मेवार र तथ्यमा आधारित अभिव्यक्ति तथा व्यवहार अपनाउन एसोसिएशनले अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट