नेभिगेशन

कांग्रेस महामन्त्रीमा डा. सन्तोष उपाध्यायको उम्मेदवारी घोषणा

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। अछाम–२ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उहाँले नयाँ पुस्ताको नेतृत्व र सहभागिता बढाउन आफू चुनावी मैदानमा उत्रिएको बताउनुभएको छ।

उपाध्यायले कांग्रेसभित्र पुस्तान्तरण, सुशासन, जवाफदेहिता र नयाँ कार्यशैलीको आवश्यकता बढेको उल्लेख गर्दै युवाको आवाज पार्टी नेतृत्वमा स्थापित गर्न आफूले भूमिका खेल्न चाहेको बताउनुभयो।

उहाँले क्षमता र योगदानका आधारमा अवसर पाउने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट एमबीबीएस गर्नुभएका उपाध्यायले अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा चिकित्सा नेतृत्वसम्बन्धी अध्ययनसमेत गर्नुभएको छ। विद्यार्थी राजनीतिमा नेविसंघसँग आबद्ध उहाँ सञ्चार, सामाजिक सेवा र खेलकुद व्यवस्थापनमा पनि सक्रिय हुनुहुन्छ।

उहाँ नेपाल भलिबल लिगको एक टोलीका कार्यकारी निर्देशकका रूपमा काम गरिसक्नुभएको छ। सन् २०१९ का मिस्टर नेपाल विजेता उपाध्यायले सन् २०२१ मा मिस्टर सुपरनेशनलमा तेस्रो रनरअपको उपाधि जित्नुभएको थियो।

उहाँले कान्तिपुर टेलिभिजनको ‘गुड मर्निङ नेपाल’ कार्यक्रम पनि सञ्चालन गर्नुभएको थियो। आगामी स्थानीय निर्वाचनमा युवाको सहभागिता बढाउँदै कांग्रेसलाई थप जनमुखी र गतिशील बनाउने आफ्नो लक्ष्य रहेको उपाध्यायले बताउनुभएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट