नेभिगेशन

आज विश्व दृष्टि दिवस मनाइँदै

नेपाल हेल्थ न्युज, काठमाडौं । ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज विश्व दृष्टि दिवस मनाइँदैछ । विश्व दृष्टि दिवस हरेक वर्ष ‘अक्टोबर’ महिनाको दोस्रो बिहीबार मनाइन्छ ।

यस वर्षको नाराले व्यक्तिगत रूपमा आँखाको हेरचाह गर्न प्रेरित गर्नुका साथै सरकार र सरोकारवालालाई सबैका लागि सर्वसुलभ र गुणस्तरीय आँखा स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । साथै नाराले विद्यालय, कार्यस्थल र नीति निर्माण हुने स्थानमा आँखा परीक्षण तथा जनचेतनाका गतिविधि विस्तार गर्न पनि जोड दिएको छ ।

सन् १९८१ मा नेपालमा अन्धोपनको प्रचलन शून्य दशमलव ८४ प्रतिशत रहेकोमा सन् २०२२ को आरएएबी सर्वेक्षणमा यो शून्य दशमलव २८ प्रतिशतमा झरेको देखाएको छ । तर अन्धोपन घट्दैमा आँखाको स्वास्थ्यका सबै समस्या समाधान भएका छैनन् ।

नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रका अनुसार ग्लुकोमा, आँखाको पर्दासम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित आँखाका रोग र दृष्टिदोषजस्ता समस्या पनि बढ्दो चुनौती बनेका छन् । बढ्दो औसत आयु, नसर्ने रोगको भार, बदलिँदो जीवनशैली र डिजिटल उपकरणको व्यापक प्रयोगले आँखाको स्वास्थ्यमा नयाँ किसिमका जोखिम थपिरहेका छन् ।

सङ्घले हालसम्म पाँच करोड दुईलाख ४८९ जनालाई उपचार सेवा प्रदान गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ । सङ्घको हाल २८ आँखा अस्पताल, ४४ जिल्ला शाखाका २२६ उपचार केन्द्र मार्फत् नेपालीसहित अन्य विभिन्न विदेशी नागरिकलाई आँखा सेवा प्रदान गरिसकेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट