नेभिगेशन

बाढी प्रभावित क्षेत्रमा गङ्गालाल केन्द्रको निःशुल्क मुटु परीक्षण शिविर

नेपाल हेल्थ न्युज, काठमाडौं। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले बाढी प्रभावित तथा स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ भएका नागरिकलाई लक्षित गर्दै नुवाकोटका विभिन्न क्षेत्रमा निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गरेको छ।

केन्द्रको विशेषज्ञसहितको टोलीले बुधबार नुवाकोटका विदुर नगरपालिका–५ अन्तर्गत देडघाट, पिपलटार, बेलकोटगढी नगरपालिका–८, लिखु गाउँपालिका–२ र ३, बट्टार बजार, सूर्यगढी गाउँपालिका, विदुर नगरपालिका–३ को सिर्खाली तथा बुहुनिबेँसीलगायत क्षेत्रमा पुगेर स्वास्थ्य परीक्षण गरेको हो।

शिविरमा दुई सय जनाको स्वास्थ्य परीक्षण गरिएको केन्द्रले जनाएको छ। परीक्षण गरिएकामध्ये १९० जनाको इकोकार्डियोग्राफी तथा १०० जनाको इलेक्ट्रोकार्डियोग्राम (ईसीजी) परीक्षण गरिएको थियो।

बाढीका कारण प्रभावित भएका तथा नियमित स्वास्थ्य सेवाको पहुँचमा पुग्न कठिनाइ भएका नागरिकलाई स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको केन्द्रले जनाएको छ।

केन्द्रले स्वास्थ्य सेवाबाट वञ्चित हुनसक्ने नागरिकलाई लक्षित गर्दै प्रभावित क्षेत्रमा नै पुगेर मुटुसम्बन्धी रोगको परीक्षण तथा आवश्यक परामर्शसमेत प्रदान गरेको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट