नेभिगेशन
पेटसम्बन्धी लक्षणलाई उमेरअनुसार मूल्याङ्कन गर्नु अत्यन्त आवश्यक

बालबालिकामा पेटसम्बन्धी रोग 

झाडापखालादेखि जन्मजात आन्द्राको समस्यासम्म-डा. अन्ना शर्मा

बालबालिकामा देखिने पेटसम्बन्धी रोगहरू वयस्कको भन्दा धेरै फरक हुन्छन् । उमेर, जन्मको अवस्था, खानपान र शारीरिक विकासअनुसार उनीहरूमा देखिने समस्या पनि परिवर्तन हुँदै जान्छ । नवजात शिशुमा देखिने समस्या पाँच वर्षको बालकमा देखिने समस्याभन्दा फरक हुनसक्छ भने विद्यालय जाने उमेरका बालबालिकामा फेरि अर्को प्रकारका समस्या देखिन सक्छन् । त्यसैले कुनै पनि पेटसम्बन्धी लक्षणलाई उमेरअनुसार मूल्याङ्कन गर्नु अत्यन्त आवश्यक हुन्छ । समयमै सही पहिचान र उपचार हुन सके अधिकांश रोग पूर्ण रूपमा निको हुन सक्छन् । नवजात शिशुमा देखिने पेटसम्बन्धी रोग अन्य उमेरका बालबालिकाभन्दा फरक हुन्छन् । बच्चा पूरा गर्भअवधि पुगेपछि वा समयअगावै जन्मिएको हो भन्ने कुरा महत्वपूर्ण हुन्छ । समयअगावै जन्मिएका शिशुहरूमा पाचन प्रणाली पूर्ण रूपमा विकसित नभएकाले केही गम्भीर समस्या देखिन सक्छन्।


नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस
समय अगावै जन्मिएको नवजात शिशुमा देखिने सबैभन्दा गम्भीर पेटसम्बन्धी रोगमध्ये एक हो नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस । यसमा बच्चाले दूध राम्रोसँग पचाउन सक्दैन, पेट फुल्ने, दूध खान छोड्ने, वान्ता हुने तथा आन्द्रामा गम्भीर संक्रमण र क्षति हुनसक्छ । समयमै उपचार नगरे यो जीवन जोखिममा पार्ने अवस्था पनि बन्नसक्छ ।


दूध रिफ्लक्स हुनु
पूरा समय पुगेपछि जन्मिएका धेरैजसो स्वस्थ नवजात शिशुमा देखिने अर्को सामान्य समस्या हो दूध रिफ्लक्स । दूध खाएपछि केही दूध मुखतिर फर्केर आउनु धेरै अवस्थामा सामान्य शारीरिक प्रक्रिया हो । यसलाई दूध नपचेको भनेर बुझ्नु आवश्यक छैन । बच्चाको तौल राम्रोसँग बढिरहेको छ र अन्य समस्या छैन भने अधिकांश अवस्थामा यो उमेरसँगै आफैं कम हुँदै जान्छ ।


इन्टेस्टाइनल एट्रेसिया
इन्टेस्टाइनल एट्रेसिया भनेको आन्द्राको कुनै भाग जन्मजात राम्रोसँग विकास नभएको वा बन्द भएको अवस्था हो । यस अवस्थामा बच्चाले दूध पचाउन सक्दैन, पटक–पटक बान्ता हुन्छ, पेट फुल्छ र दिसा हुन पनि समस्या आउन सक्छ । यस्तो अवस्थामा समयमै शल्यक्रिया नगरे जटिल अवस्था सिर्जना हुनसक्छ ।


हाइपरट्रोफिक पाइलोरिक स्टेनोसिस
जन्मेको केही सातापछि देखिन सक्ने अर्को महत्वपूर्ण रोग हो हाइपरट्रोफिक पाइलोरिक स्टेनोसिस । यसमा पेट र सानो आन्द्राको सुरुआती भाग जोडिने स्थानको मांसपेशी असामान्य रूपमा बाक्लो हुन्छ । फलस्वरूप दूध तल जान नसकी बच्चाले बारम्बार जोडले बान्ता गर्न थाल्छ । यसको प्रभावकारी उपचार शल्यक्रिया नै हो । समयमै अप्रेसन गरिएपछि अधिकांश बच्चा पूर्ण रूपमा निको हुन्छन् । 


हर्सप्रुङ रोग
हर्सप्रुङ रोग ठूलो आन्द्राको जन्मजात समस्या हो । यसमा ठूलो आन्द्राको कुनै भागमा आवश्यक स्नायुकोष विकास हुँदैन । त्यसकारण दिसा सहज रूपमा अघि बढ्न सक्दैन । यस्ता बच्चामा जन्मेपछि समयमा दिसा नहुने, बारम्बार कब्जियत हुने, पेट धेरै फुल्ने, दिसा गर्न अत्यधिक गाह«ो हुने जस्ता लक्षण देखिन सक्छन् ।यसको उपचार पनि शल्यक्रियामार्फत समस्या भएको आन्द्राको भाग हटाएर गरिन्छ ।


आन्द्रा बटारिने (म्यालरोटेसन) 
कतिपय शिशुमा आन्द्रा पेटभित्र सामान्य अवस्थामा नरही बटारिएको (म्यालरोटेसन) हुनसक्छ । यसले आन्द्रामा रगतको आपूर्ति बन्द हुन सक्ने भएकाले आकस्मिक अवस्था सिर्जना हुनसक्छ । हरियो बान्ता, पेट अत्यधिक फुल्ने वा बच्चा असाध्यै रोइरहने जस्ता लक्षण देखिए तुरुन्त अस्पताल पुग्नुपर्छ । समयमै उपचार गरे अधिकांश समस्या निको हुन्छन् । जन्मजात पेटसम्बन्धी धेरै रोग अभिभावकका लागि डर लाग्दा सुनिए पनि अधिकांश अवस्थामा समयमै पहिचान गरी शल्यक्रिया तथा उचित उपचार गर्न सकियो भने बच्चा पूर्ण रूपमा सामान्य जीवन बिताउन सक्छ । त्यसैले बच्चाले लगातार दूध नपचाउने, बारम्बार बान्ता गर्ने, पेट अत्यधिक फुल्ने, दिसा गर्न नसक्ने वा जन्मेको पहिलो दिनमै दिसा नहुने जस्ता लक्षणलाई सामान्य भनेर बेवास्ता गर्नुहुँदैन ।


जन्मजात रोगको उपचार नेपालमै सम्भव 
राति निद्राबाट ब्युँझिने गरी पेट दुख्ने, बारम्बार बान्ता हुने, तौल नबढ्ने वा घट्दै जाने, आँखा वा शरीर पहेँलो देखिने, पेट असामान्य रूपमा फुल्ने, बच्चा अत्यधिक सुस्त हुने, दिसा वा बान्तामा रगत देखिने, लगातार रोइरहनु र शान्त हुन नसक्ने अवस्था भएमा ढिलाइ नगरी विशेषज्ञ चिकित्सकको परामर्श लिनुपर्छ ।

नेपालमा धेरैजसो जन्मजात पाचन प्रणालीका रोगको सफल उपचार सम्भव छ । हाइपरट्रोफिक पाइलोरिक स्टेनोसिस शल्यक्रियाबाट पूर्ण रूपमा निको हुने रोग हो । इङ्ग्विनल हर्निया अहिले सामान्य डे–केयर सर्जरीका रूपमा गरिन्छ । त्यस्तै इन्टेस्टाइनल एट्रेसिया, इम्परफोरेट एनस (जन्मजात दिसा निस्कने मार्ग बन्द हुनु), हर्सप्रुङ रोग जस्ता जटिल जन्मजात समस्याको पनि नेपालका विशेषज्ञ अस्पतालहरूमा सफल शल्यक्रिया हुँदै आएको छ ।

कतिपय अवस्थामा एकभन्दा बढी चरणमा अप्रेसन गर्नुपर्ने हुनसक्छ । बालबालिकामा पेटसम्बन्धी रोगको उपचारमा अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। बच्चालाई सुरक्षित खाना र सफा पानी उपलब्ध गराउने, स्तनपानलाई प्राथमिकता दिने, हात धुने बानी बसाल्ने तथा झाडापखालाको समयमा शरीरमा पानीको कमी हुन नदिने उपाय अपनाउनु आवश्यक छ । त्यसैगरी नवजात शिशुमा बारम्बार बान्ता हुने, पेट असामान्य रूपमा फुल्ने, दिसा नहुने, दूध खान छोड्ने वा बच्चा अत्यधिक सुस्त हुने लक्षण देखिए तुरुन्त बालरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।

पाँच वर्षमुनिका बालबालिकामा सबैभन्दा बढी देखिने रोग
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पाँच वर्षमुनिका बालबालिकामा अस्पताल भर्ना हुनुका प्रमुख कारणहरूमध्ये पाचन प्रणालीसम्बन्धी रोग पनि एक हो । नेपालमा बालबालिकामा सबैभन्दा बढी देखिने पेटसम्बन्धी समस्या झाडापखाला हो । झाडापखाला वर्षको कुनै एक मौसममा मात्र सीमित नभई जाडो होस् वा गर्मी, दुवै समयमा भाइरल संक्रमण, ब्याक्टेरियल संक्रमण, दूषित खाना वा पानी तथा सामान्य अपचका कारण बालबालिकामा झाडापखाला देखिन सक्छ । कसैमा बारम्बार पातलो दिसा लाग्ने, कसैमा वान्ता हुने, कसैमा पेट दुख्ने वा खाना नखाने समस्या देखिन्छ । धेरैजसो अवस्थामा उचित उपचार गरेपछि यी समस्या निको हुन्छन् । तर साना बालबालिकामा शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुने जोखिम उच्च हुने भएकाले लापरबाही गर्न हुँदैन । 


बालबालिकामा हर्निया 
हर्निया बालबालिकामा पनि देखिने समस्या हो । अम्बिलिकल हर्नियामा नाइटोको भागबाट बच्चा रोएको वा खोक्दा डल्लो बाहिर आएको देखिन्छ । धेरैजसो अवस्थामा बच्चा ठूलो हुँदै जाँदा यो आफैं निको हुन्छ र शल्यक्रिया आवश्यक पर्दैन । इङ्ग्विनल हर्निया पेट र तिघ्राको जोडिने भागमा हुने हर्निया हो । यसको उपचार भने शल्यक्रिया नै हो । अहिले यो सामान्य डे–केयर शल्यक्रियाका रूपमा सफलतापूर्वक गरिन्छ र धेरैजसो बच्चा एकै दिन वा अर्को दिन घर फर्कन सक्छन् ।


 इन्टुससेप्सनः साना बालबालिकाको आपतकालीन अवस्था
दुई वर्षभन्दा कम उमेरका बालबालिकामा देखिने गम्भीर रोगमध्ये एक हो इन्टुससेप्सन  । यसमा आन्द्राको एउटा भाग अर्को भागभित्र पस्छ । फलस्वरूप आन्द्रामा अवरोध सिर्जना हुन्छ ।

यसका प्रमुख लक्षण बच्चा एक्कासि धेरै रुने, पेट दुखेर शान्त नहुने, पटक–पटक वान्ता हुने, खाना खान नमान्ने, पेट फुल्ने, पछि दिसामा रगत वा जेली जस्तो पदार्थ देखिने रहेका छन् । अल्ट्रासाउन्डबाट यसको छिटो पहिचान गर्न सकिन्छ । प्रारम्भिक अवस्थामा केही बिरामीमा आन्द्रालाई आराम दिँदा समस्या आफैं सुधार हुनसक्छ ।

कतिपय अवस्थामा हाइड्रोस्टाटिक रिडक्सन गरेर दिसा निस्कने मार्गबाट विशेष दबाबयुक्त पानी प्रयोग गरी आन्द्रालाई पूर्वअवस्थामा फर्काइन्छ । यदि त्यसबाट पनि समस्या समाधान नभएमा शल्यक्रिया आवश्यक पर्न सक्छ । यदि बच्चामा लगातार बान्ता भइरहेको छ, पानीसमेत खान सकिरहेको छैन, अत्यधिक सुस्त भएको छ, धेरै पटक झाडापखाला भएर शरीर सुक्दै गएको छ, पेट अत्यधिक फुलेको छ, असह्य पेट दुखाइ छ, दिसामा रगत देखिएको छ, बच्चा रोइरहे पनि शान्त हुन सकेको छैन भने तुरुन्त विशेषज्ञ अस्पतालमा लैजानुपर्छ ।
 
Gastric-Child-1793355330.jpg
भाइरल ग्यास्ट्रोएन्टेराइटिस
सामान्य भाषामा झाडापखाला भनेर चिनिने भाइरल ग्यास्ट्रोएन्टेराइटिस बालबालिकामा अत्यन्त सामान्य रोग हो । यसको प्रमुख कारण भाइरल संक्रमण हो । यसमा विशेषगरी रोटाभाइरस र नोरोभाइरस प्रमुख मानिन्छन् ।

नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत रोटाभाइरसविरुद्धको खोप उपलब्ध गराउन थालेपछि गम्भीर झाडापखालाका बिरामीको संख्या उल्लेखनीय रूपमा घटेको छ । यस रोगमा सुरुमा बच्चालाई वान्ता हुन थाल्छ । त्यसपछि बारम्बार पानीजस्तो पातलो दिसा हुन्छ । धेरै पटक झाडापखाला लागेपछि शरीरमा पानी र आवश्यक लवणको कमी (डिहाइड्रेसन) हुनसक्छ  जुन साना बालबालिकाका लागि जोखिमपूर्ण अवस्था हो ।

भाइरल ग्यास्ट्रोएन्टेराइटिसको कुनै विशेष एन्टिबायोटिक उपचार आवश्यक पर्दैन । उपचारको मुख्य उद्देश्य भनेको शरीरबाट गुमेको पानी र लवणको पूर्ति गर्नु हो । यसका लागि जीवनजल, प्रशस्त तरल पदार्थ, दालको झोल, सुप, स्तनपान गरिरहेका शिशुमा निरन्तर स्तनपान सबैभन्दा प्रभावकारी उपाय हुन् । यदि बच्चामा अत्यधिक डिहाइड्रेसन भयो भने अस्पतालमा भर्ना गरेर नसाबाट सलाइन दिनुपर्ने हुनसक्छ ।


बालबालिकामा कब्जियत 
अहिले बालबालिकामा सबैभन्दा धेरै देखिने दीर्घकालीन पेटसम्बन्धी समस्यामध्ये कब्जियत पनि एक हो । धेरैजसो अवस्थामा यो कुनै गम्भीर रोगका कारण नभई दैनिक जीवनशैलीसँग सम्बन्धित हुन्छ । मुख्य कारणहरूमा फाइबरयुक्त खाना कम खाने, फलफूल तथा सागसब्जी कम सेवन गर्नु, पर्याप्त पानी नपिउने, अत्यधिक दूध सेवन, नियमित दिसा गर्ने बानी नबस्ने पर्छन् । दिसा कडा भएपछि बच्चालाई दिसा गर्दा दुख्ने हुन्छ । त्यसपछि डरले बच्चाले दिसा रोक्न थाल्छ । यसले समस्या झन् जटिल बनाउँछ ।

कब्जियतको उपचार औषधिभन्दा बानी परिवर्तन हो । कब्जियतको उपचारमा औषधिले मात्र पर्याप्त हुँदैन । सबैभन्दा महत्वपूर्ण कुरा  फाइबरयुक्त खाना बढाउने, फलफूल र हरियो सागसब्जी खाने बानी बसाल्ने, पर्याप्त पानी पिउने, अत्यधिक दूध सेवन नियन्त्रण गर्ने, नियमित समयमा शौचालय जाने बानी विकास गर्ने हो ।

कतिपय अवस्थामा सुरुका केही समयका लागि चिकित्सकको सल्लाहअनुसार दिसा नरम बनाउने औषधि प्रयोग गर्न सकिन्छ । तर दीर्घकालीन समाधान भनेको जीवनशैली सुधार नै हो ।


फुड एलर्जी 
बालबालिकामा फुड एलर्जी पनि देखिनसक्छ । यसका लक्षण पेटमा मात्र सीमित हुँदैनन् । बच्चामा  जिउभरि डाबर आउने, छाला चिलाउने, पेट दुख्ने, वान्ता हुने जस्ता लक्षण देखिन सक्छन् । कतिपय अवस्थामा भने अत्यन्त गम्भीर एलर्जी एनाफाइलाक्सिस  हुनसक्छ । यसमा ओठ, आँखा, घाँटी सुन्निने, सास फेर्न गाह«ो हुने, रक्तचाप घट्ने जस्ता लक्षण देखिन्छन् । यो जीवन जोखिममा पार्ने आपतकालीन अवस्था भएकाले तत्काल अस्पताल पुगेर उपचार गर्नुपर्छ । यदि कुनै निश्चित खाना खाएपछि हरेक पटक एउटै समस्या दोहोरिन्छ भने त्यही खाना एलर्जीको कारण हुनसक्छ । यस्तो शंका लागेमा एलर्जी परीक्षण गरेर पनि कारण पहिचान गर्न सकिन्छ ।


बालबालिकामा ग्याँस्ट्रिक अल्सर 
बालबालिकामा पनि ग्याँस्ट्राइटिस, एच. पाइलोरीसंक्रमण तथा ग्यास्ट्रिक अल्सर हुनसक्छ । यद्यपि यो धेरै सामान्य समस्या भने होइन । बच्चामा लगातार पेट दुख्ने, रगत मिसिएको बान्ता वा दिसा, तौल घट्ने वा अन्य गम्भीर लक्षण देखिएमा आवश्यक परे इन्डोस्कोपी गरेर मात्र यसको निश्चित निदान गरिन्छ ।

यदि बच्चाले पेट दुखेको बताए पनि खेलिरहेको छ, सामान्य रूपमा खाना खाइरहेको छ, बान्ता भएको छैन र दैनिक गतिविधि सामान्य छ भने धेरैजसो अवस्थामा त्यो सामान्य पेट दुखाइ हुनसक्छ ।

बच्चा लगातार रोइरहने, पटक–पटक बान्ता हुने,पेट छोएको सहन नसक्ने, पेट अत्यधिक दुख्ने, हिँड्नसमेत अप्ठ्यारो हुने, खाना खान पूर्ण रूपमा छोड्ने, अत्यधिक सुस्त देखिएमा  गम्भीर समस्या हुनसक्ने सम्भावना बढी हुन्छ ।  यस्तो अवस्थामा अभिभावकले घरमै अनुमान गरेर बस्नु हुँदैन । तुरुन्त स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको जाँच गराउनुपर्छ

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पेट
बढ्दो पाचन प्रणालीको क्यान्सर

बढ्दो पाचन प्रणालीको क्यान्सर

पेटका रोग पहिचानमा रेडियोलोजी

पेटका रोग पहिचानमा रेडियोलोजी

पेट दुख्यो भन्दैमा औषधि मात्र होइन

पेट दुख्यो भन्दैमा औषधि मात्र होइन