नेभिगेशन

इस्केमिक स्ट्रोकमा ‘समय नै मस्तिष्क हो’

स्ट्रोक, ब्रेन हेमोरेज, ब्रेन एन्युरिजम र एभीएमको ठूलो चिरफारबिनै उपचार सम्भव; इस्केमिक स्ट्रोकमा ‘समय नै मस्तिष्क’ भएकाले लक्षण देखिनासाथ अस्पताल पुग्न चिकित्सकको सुझाव

इन्डोभास्कुलर भनेको ठूलो चिरफार नगरी रगतको नलीभित्रैबाट उपचार गर्ने आधुनिक प्रविधि हो । यसको प्रयोग न्युरो, कार्डियाक, एब्डोमिनल तथा पेरिफेरल भास्कुलर रोगमा हुन्छ । दिमागसँग सम्बन्धित इन्डोभास्कुलर उपचारलाई न्युरो–इन्डोभास्कुलर इन्टरभेन्सन भनिन्छ । न्युरो–इन्डोभास्कुलर प्रविधिबाट मुख्यतः स्ट्रोक, ब्रेन हेमोरेज, ब्रेन एन्युरिजम र आर्टेरियो–भेनस मालफर्मेसन (एभिएम) जस्ता रगतका नलीसँग सम्बन्धित समस्याको उपचार गर्न सकिन्छ । रगतको नली बन्द भएर स्ट्रोक भएको अवस्थामा नलीभित्र पुगेको उपकरणबाट क्लट निकालेर रक्तसञ्चार पुनः सुचारु गरिन्छ । त्यसैगरी, रगतको नली फुलेर एन्युरिजम बनेको वा फुटेर मस्तिष्कमा रक्तस्राव भएको अवस्थामा पनि नलीभित्रैबाट उपचार गरी रक्तस्राव रोक्न सकिन्छ । यस प्रविधिको महत्वपूर्ण पक्ष भनेको ठूलो शल्यक्रिया र चिरफार आवश्यक नपर्नु हो । त्यसैले घाउ पाक्ने, संक्रमण हुने तथा लामो समय अस्पताल बस्नुपर्ने जोखिम तुलनात्मक रूपमा कम हुन्छ । बिरामीको अवस्था राम्रो भएमा उपचारपछि केही दिनमै घर फर्किन सक्ने अवस्था हुन्छ ।

ब्रेन हेमोरेजमा समय अत्यन्त महत्वपूर्ण
ब्रेन हेमोरेजका सबै बिरामीलाई एउटै किसिमको उपचार आवश्यक हुँदैन। बिरामीको चेतनाको अवस्था, रक्तस्रावको मात्रा, मस्तिष्कमा परेको प्रभाव, रक्तचाप तथा अन्य स्वास्थ्य अवस्थालाई हेरेर उपचारको विधि निर्धारण गरिन्छ । विशेषगरी एन्युरिजम फुटेर रक्तस्राव भएको अवस्थामा पुनः रक्तस्राव हुने जोखिम हुन्छ ।

त्यसैले एन्युरिजम पहिचान भएपछि आवश्यकताअनुसार सकेसम्म चाँडो त्यसलाई सुरक्षित गर्नु महत्वपूर्ण हुन्छ। इन्डोभास्कुलर प्रविधिबाट नलीभित्रै पुगेर एन्युरिजमलाई टाल्न सकिन्छ ।

ब्रेन हेमोरेजपछि सुरुका केही दिन निकै संवेदनशील हुन्छन् । मस्तिष्क सुन्निन सक्छ, रक्तनली खुम्चिन सक्छ र मस्तिष्कभित्रको चाप बढ्न सक्छ । त्यसैले जति छिटो सही अस्पतालमा पुगेर उपचार सुरु हुन्छ, त्यति नै राम्रो परिणामको सम्भावना हुन्छ ।

इस्केमिक स्ट्रोकमा ‘समय नै मस्तिष्क हो’
रगतको नली बन्द भएर हुने इस्केमिक स्ट्रोकमा समयको भूमिका अझ महत्वपूर्ण हुन्छ । नली बन्द भएपछि त्यसले आपूर्ति गर्ने मस्तिष्कको भागमा अक्सिजन पुग्न छोड्छ र क्रमशः मस्तिष्कका कोषिका क्षतिग्रस्त हुँदै जान्छन् । त्यसैले स्ट्रोकको लक्षण देखिएपछि एक मिनेट पनि खेर फाल्नु हुँदैन । उपयुक्त बिरामीमा करिब साढे चार घण्टाभित्र इन्ट्राभेनस थ्रोम्बोलाइसिसबाट क्लट खोल्ने प्रयास गर्न सकिन्छ।

ठूलो नली बन्द भएको अवस्थामा बिरामीको अवस्था र मस्तिष्कको इमेजिङका आधारमा इन्डोभास्कुलर थेरापी अर्थात् मेकानिकल थ्रोम्बेक्टोमी गर्न सकिन्छ। चयन गरिएका बिरामीमा यसको उपचार समय २४ घण्टासम्म पनि विस्तार हुन सक्छ ।

तर यसको अर्थ २४ घण्टासम्म पर्खनुपर्छ भन्ने होइन । जति चाँडो उपचार गरिन्छ, मस्तिष्क जोगाउने सम्भावना त्यति नै बढी हुन्छ । अचानक हातखुट्टा नचल्ने, अनुहार बांगिने, बोली अस्पष्ट हुने, दृष्टिमा समस्या आउने वा शरीरको एकातर्फ कमजोरी देखिने जस्ता लक्षण देखिएमा घरमै बस्ने वा समय कुर्ने होइन, तुरुन्त स्ट्रोक उपचार हुने अस्पतालमा पु¥याउनुपर्छ।

उपचारभन्दा पहिले रोकथाम महत्वपूर्ण
एन्युरिजम वा एभीएम जस्ता समस्या कतिपय अवस्थामा पहिले नै पहिचान गर्न सकिन्छ । जोखिम पहिचान गरेर समयमै उपचार गर्न सकेमा भविष्यमा हुनसक्ने गम्भीर रक्तस्राव रोक्न सकिन्छ । त्यसैले उच्च रक्तचाप नियन्त्रणमा राख्नु, मधुमेह तथा अन्य जोखिम कारकको व्यवस्थापन गर्नु र असामान्य न्युरोलोजिकल लक्षण देखिएमा तत्काल चिकित्सकीय परामर्श लिनु आवश्यक छ । न्युरो–इन्डोभास्कुलर उपचारले जटिल मस्तिष्कसम्बन्धी रोगमा ठूलो चिरफारबिना उपचारको सम्भावना बढाएको छ। तर प्रविधि जति नै आधुनिक भए पनि यसको सफलताको सबैभन्दा महत्वपूर्ण आधार एउटै हो—‘समयमै बिरामी अस्पताल पुग्नु ।’ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप न्युरो