नेपाल हेल्थ न्युज, झापा । अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला प्रादेशिक अस्पताल भद्रपुरले भने फोहरलाई आम्दानीको स्रोत बनाउन सफल भएको छ ।
अस्पतालले पुनःप्रयोग गर्न मिल्ने फोहर छुट्याएर बिक्री गरी वार्षिक करिब रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ । अस्पतालको फोहरमैला व्यवस्थापन तथा बहिरङ्ग विभाग संयोजक निरु कुँवरका अनुसार अस्पतालले विगत पाँच वर्षदेखि फोहर व्यवस्थापनबाट नियमित आम्दानी गर्दै आएको हो । पुनःप्रयोग गर्न मिल्ने कागज, प्लास्टिक र आल्मुनियमजन्य फोहर छुट्याएर बिक्री गर्ने गरिएको छ ।
“महिनामा रु १२ देखि १५ हजारसम्म आम्दानी हुन्छ । अस्पतालबाट निस्कने कागजजन्य फोहर करिब पाँच क्विन्टल, प्लास्टिकजन्य फोहर एक क्विन्टल र आल्मुनियम करिब दुई केजीसम्म बिक्री गर्ने गरेका छौँ”, कुँवरले भने ।
अस्पतालमा स्लाइनका खाली बोतल, पाइप, सिरिन्जलगायतका सामग्री पनि प्रयोगपछि छुट्याउने गरिएको छ । कुहिने र नकुहिने फोहरलाई स्रोतबाटै वर्गीकरण गरी पुनःप्रयोग गर्न मिल्ने सामग्री बिक्रीका लागि छुट्याउने गरिएको उनले जानकारी दिए ।
जर्मन सहयोगी संस्था जीआईजेडले फोहर प्रशोधन गरी पुनःप्रयोगयोग्य बनाउन आवश्यक मेसिन तथा सामग्री सहयोग गरेपछि अस्पतालमा व्यवस्थित फोहर व्यवस्थापनको अभ्यास सुरु भएको हो ।
अस्पतालबाट निस्कने जोखिमयुक्त फोहरलाई भने छुट्टै प्रशोधन गरी सुरक्षित विसर्जन गर्ने गरिएको छ । प्रयोग भइसकेका सुईजन्य सामग्रीलाई सुरक्षित बनाउने प्रक्रियापछि चौतारा निर्माणमा समेत प्रयोग गरिएको कुँवरले बताए । उनका अनुसार अस्पताल परिसरमा यस्ता दुईवटा चौतारा निर्माण भइसकेका छन् ।
फोहर व्यवस्थापनका लागि अस्पतालमा दुई जना जनशक्ति परिचालन गरिएको छ । सङ्क्रमणको जोखिम भएका फोहरलाई आधुनिक मेसिनमार्फत प्रशोधन गरी ब्याक्टेरिया नष्ट गरेपछि सुरक्षित रूपमा विसर्जन गर्ने गरिएको छ ।
हाल अस्पतालमा दैनिक औसत एक हजार जनाले बहिरङ्ग सेवा लिँदै आएका छन् । बिरामीको चापसँगै दैनिक रूपमा ठूलो परिमाणमा फोहर उत्सर्जन हुने भए पनि वर्गीकरण, प्रशोधन र पुनःप्रयोगको अभ्यासले फोहर व्यवस्थापन सहज बनेको कुँवरको भनाइ छ ।
“पहिले अस्पतालमा फोहर थुप्रिने समस्या थियो । अहिले फोहरलाई छुट्याएर व्यवस्थापन गर्न थालेपछि अस्पताल परिसर सफा राख्न पनि सहज भएको छ,” उनले भने ।
वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाख बराबरका शल्यक्रिया उपकरण हस्तान्तरण
बुधबार, मंसिर ९, २०८३
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शिक्षण अस्पतालमा
बुधबार, मंसिर ९, २०८३
धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा
बुधबार, मंसिर ९, २०८३
सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति : मन्त्री मेहता
बुधबार, मंसिर ९, २०८३
