नेभिगेशन

वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाख बराबरका शल्यक्रिया उपकरण हस्तान्तरण

नेपाल हेल्थ न्युज, काठमाडौं । वीर अस्पतालको युरोलोजी विभागलाई करिब ५० लाख रुपैयाँ बराबरका अत्याधुनिक शल्यक्रियामा प्रयोग हुने उपकरण हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ काठमाडौंले अस्पताललाई विभिन्न प्रकारका आधुनिक सर्जिकल उपकरण उपलब्ध गराएको हो । हस्तान्तरण गरिएका उपकरणमा फ्लेक्सिबल युरेटेरोस्कोप, नेफ्रोस्कोप, युरेटेरोरेनोस्कोप, टीयूआर रिसेक्टोस्कोप र सिस्टोस्कोपलगायत छन् ।

उपकरण हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष प्राडा. पुष्पराज शर्मा, आशिष जजोडियालगायतको उपस्थिति थियो । त्यसैगरी अस्पतालका निर्देशक डा. विकास नेपाल, निवर्तमान निर्देशक डा. दिलीप शर्मा तथा युरोलोजी विभाग प्रमुख प्रा.डा. रविनबहादुर बस्नेतलगायत सहभागी थियो ।

कार्यक्रममा विभाग प्रमुख प्रा.डा. बस्नेतले रोटरी क्लबले मानवीय सेवाको भावनासहित उपलब्ध गराएका उपकरणले देशभरबाट आउने बिरामीलाई सहज र प्रभावकारी उपचार सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

अस्पतालका निर्देशक डा. विकास नेपाल र निवर्तमान निर्देशक डा. दिलीप शर्माले सहयोगप्रति रोटरी क्लबलाई धन्यवाद दिँदै अस्पताल र क्लबबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष प्राडा. पुष्पराज शर्माले नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमार्फत बिरामीको सेवामा योगदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

वीर अस्पतालको युरोलोजी विभागमा दैनिक ३०० देखि ३५० जनासम्म बिरामीले बहिरङ्ग (ओपीडी) सेवा लिने गरेका छन् । विभागमा मासिक करिब २५० वटा शल्यक्रिया हुने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट