नेभिगेशन

सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति : मन्त्री मेहता

नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले सडक दुर्घटना तथा अन्य विपद्बाट घाइते हुने नागरिकलाई सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति अघि सारेको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिने बताउनुभयो।

उहाँका अनुसार प्रादेशिक ट्रमा सेन्टर स्थापना भएपछि सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुनेछ। यसले ठूला अस्पतालमा बिरामीको चाप कम गर्नुका साथै उपचारका लागि बिरामीलाई उपयुक्त स्वास्थ्य संस्थामा पठाउने रिफरल प्रणालीलाई समेत व्यवस्थित बनाउनेछ।

मन्त्री मेहताले दुर्घटनापछिको उपचारलाई प्रभावकारी बनाउन अस्पतालपूर्वको आकस्मिक स्वास्थ्य सेवालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो। सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको उल्लेख गर्दै उहाँले देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा क्रियाशील बनाइएको बताउनुभयो।

एम्बुलेन्सलाई सामान्य यातायातको साधनमा सीमित नराखी आकस्मिक उपचार सेवा उपलब्ध गराउन सक्ने साधनका रूपमा विकास गर्ने सरकारको नीति रहेको उहाँको भनाइ थियो।

उहाँले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नराखी शारीरिक पुनर्स्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो। दुर्घटनापछि उत्पन्न हुन सक्ने शारीरिक अपाङ्गता तथा मानसिक समस्यालाई सम्बोधन गर्न पुनर्स्थापना सेवाको विस्तार गरिने उहाँले बताउनुभयो।

राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणका लागि मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र आवश्यक दरबन्दी व्यवस्थापनसम्बन्धी विषयलाई छिट्टै टुंगोमा पुर्‍याइने जानकारी दिनुभयो।

विपद्, महामारी तथा सवारी दुर्घटनाका समयमा राष्ट्रिय ट्रमा सेन्टरले अग्रपङ्क्तिमा रहेर सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै उहाँले स्वदेशमै विशेषज्ञ उपचार सेवा विस्तार हुँदा उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्न सहयोग पुगेको बताउनुभयो।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरबीचको सहकार्यलाई थप सुदृढ गर्दै देशको ट्रमा उपचार सेवालाई प्रभावकारी, गुणस्तरीय र सर्वसुलभ बनाउन मन्त्रालय प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट