नेपाल हेल्थ न्युज, काठमाडौं। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको वित्तीय दिगोपना सुनिश्चित गर्न तथा योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई थप व्यवस्थित एवं प्रभावकारी बनाउने उद्देश्यले सरोकारवाला निकायबीच छलफल भएको छ।
छलफलका क्रममा कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र स्वास्थ्य बीमा बोर्डले हाल छुट्टाछुट्टै रूपमा सञ्चालन गर्दै आएका योगदान सङ्कलन तथा भुक्तानी प्रणालीलाई एकीकृत गर्ने प्रस्तावमाथि विस्तृत विचारविमर्श गरिएको हो।
तीनवटै निकायको कार्यप्रणालीलाई आपसमा आबद्ध गरी सेवा प्रवाहलाई सहज, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा बैठकमा जोड दिइएको थियो। यसका लागि विद्यमान ऐनहरूमा आवश्यक संशोधन गरी तीनवटै निकायलाई एउटै ऐनअन्तर्गत छुट्टाछुट्टै कार्यगत इकाइका रूपमा सञ्चालन गर्ने सम्भावनाबारे समेत छलफल भएको छ।
बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतमको उपस्थिति रहेको थियो। त्यसैगरी प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जगदीशचन्द्र अग्रवाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधि तथा स्वास्थ्य बीमा बोर्डका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
प्रस्तावित एकीकरणले योगदान सङ्कलन तथा सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउँदै राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमको दीर्घकालीन वित्तीय दिगोपना कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाख बराबरका शल्यक्रिया उपकरण हस्तान्तरण
बुधबार, मंसिर ९, २०८३
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शिक्षण अस्पतालमा
बुधबार, मंसिर ९, २०८३
धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा
बुधबार, मंसिर ९, २०८३
सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति : मन्त्री मेहता
बुधबार, मंसिर ९, २०८३
