नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा सरकारसँग भएको सहमतिअनुसार छानबिन समिति गठन नभएको भन्दै प्रा. डा. गोविन्द केसीले असन्तुष्टि व्यक्त गर्नुभएको छ। उहाँले समितिको कार्यक्षेत्र सहमतिअनुरूप बनाउन सरकारसँग माग गर्नुभएको छ।
२५औँ सत्याग्रहका क्रममा गत कात्तिक २१ गते सरकार र डा. केसीबीच भएको सहमतिपछि शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिको जिम्मेवारी सहमतिको भावनासँग मेल नखाने उहाँको भनाइ छ। सहमति भएको १८ दिनपछि समिति गठन गरिए पनि त्यसको कार्यक्षेत्र सीमित राखिएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो।
प्रेस विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. केसीले सरकारले सहमति कार्यान्वयनमा ढिलाइ गरेको र आफूहरूको सिफारिसमा रहेका चिकित्सा शिक्षा क्षेत्रका विज्ञलाई समितिमा समावेश नगरेको बताउनुभएको छ। समिति बनाउन लामो समय लगाउने तर छानबिनका लागि सात दिन मात्रै समय दिने सरकारी निर्णय पनि उचित नभएको उहाँको टिप्पणी छ।
सरकारसँग भएको सहमतिको पहिलो बुँदामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिने तथा सिट निर्धारण गर्ने र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सिट थप्ने क्रममा चिकित्सा शिक्षा आयोगले तोकेका मापदण्ड पालना भए–नभएको अध्ययन गर्ने व्यवस्था छ।
साथै, प्रक्रियामा मापदण्ड उल्लङ्घन वा स्वार्थको द्वन्द्व देखिए सम्बन्धित पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउने र छानबिनबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने सहमति भएको थियो।
तर मन्त्रालयले गठन गरेको समितिलाई सम्बन्धित संस्थाको स्थलगत निरीक्षण गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने क्षमता मूल्याङ्कन गर्ने जिम्मेवारी मात्रै दिइएको डा. केसीको दाबी छ। यसले निर्णय प्रक्रियाको वैधानिकता, निर्धारित मापदण्डको पालना, स्वार्थको द्वन्द्व र पदाधिकारीको जिम्मेवारीजस्ता महत्वपूर्ण विषय समेट्न नसकेको उहाँले उल्लेख गर्नुभएको छ।
उहाँका अनुसार संस्थाको भौतिक तथा शैक्षिक क्षमता परीक्षण गर्नु र अनुमति तथा सिट निर्धारणका क्रममा भएका निर्णयहरूको निष्पक्ष छानबिन गर्नु अलग विषय हुन्। स्थलगत अनुगमन छानबिनको एउटा पाटो भए पनि त्यसलाई सहमतिमा उल्लेख गरिएका सम्पूर्ण विषयको विकल्प बनाउन नमिल्ने उहाँको तर्क छ।
डा. केसीले आफूहरूको उद्देश्य कुनै संस्था वा व्यक्तिलाई पूर्वाग्रहका आधारमा दोषी देखाउनु नभएको स्पष्ट पार्नुभएको छ। बरु निर्णय प्रक्रियाको निष्पक्षता, मापदण्डको कार्यान्वयन, स्वार्थको द्वन्द्वको पहिचान र जिम्मेवार पदाधिकारीको जवाफदेहिता सुनिश्चित हुनुपर्ने उहाँको माग छ।
उहाँँले सहमतिको पहिलो बुँदाअनुसार छानबिन समितिको संरचना र कार्यक्षेत्र परिमार्जन गरी प्रतिवेदनका सुझावसमेत प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ।
यसैबीच, सहमति कार्यान्वयनको अनुगमन गर्न गठित कार्यदलको सोमबारको बैठकमा आफ्ना पक्षबाट प्रतिनिधित्व गर्ने डा. बद्री रिजाल, विजय बाबु शिवाकोटी र डा. अमृत जैसीलाई सहभागी नगराइएको विषयमा पनि डा. केसीले आपत्ति जनाउनुभएको छ। उक्त घटनाले सहमति कार्यान्वयनप्रति सरकारी पक्ष गम्भीर नरहेको आशङ्का पैदा गरेको उहाँको आरोप छ।
सरकारसँग भएका सहमतिका बाँकी विषय पनि अविलम्ब कार्यान्वयन गर्न आग्रह गर्दै डा. केसीले सहमतिलाई केवल औपचारिकतामा सीमित राख्न खोजिए पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभएको छ। त्यसबाट सिर्जना हुने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने उहाँको भनाइ छ।
वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाख बराबरका शल्यक्रिया उपकरण हस्तान्तरण
बुधबार, मंसिर ९, २०८३
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शिक्षण अस्पतालमा
बुधबार, मंसिर ९, २०८३
धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा
बुधबार, मंसिर ९, २०८३
सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको नीति : मन्त्री मेहता
बुधबार, मंसिर ९, २०८३
