नेभिगेशन

सबै नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गर्ने सरकारको तयारी

असमर्थ नागरिकको जिम्मेवारी राज्यले लिने

नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले सबै नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गर्ने र नागरिकको आर्थिक अवस्था तथा आयका आधारमा योगदान प्रणाली व्यवस्थित गर्ने तयारी गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित सरकारले सुधारका विभिन्न प्राथमिकता अघि सारेको हो।

प्रस्तावित सुधारअनुसार सरकारी कर्मचारी, निजी क्षेत्रका श्रमिक तथा कर्मचारी, स्वरोजगार, अनौपचारिक क्षेत्रका श्रमिक र बेरोजगारसहित सबै नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आबद्ध गरिनेछ।

त्यस्तै, नागरिकको आर्थिक क्षमता र आयका आधारमा बीमाबापतको योगदान निर्धारण गर्ने व्यवस्था गरिनेछ। अति विपन्नलगायत विशेष समूहका नागरिकको बीमा प्रिमियम भने राज्यले नै व्यहोर्ने प्रस्ताव गरिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा अन्य निकायमार्फत सञ्चालन भइरहेका स्वास्थ्य उपचार सुविधासम्बन्धी कार्यक्रमबीच समन्वय र एकीकरण गर्ने सरकारको प्राथमिकता छ।

त्यसैगरी, बीमामार्फत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाको दायरा विस्तार गरी नागरिकलाई सहज, सुलभ र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने योजना अघि सारिएको छ। बीमामा आबद्धता, नवीकरण, स्वास्थ्य अभिलेख, प्रेषण, बीमा दाबी तथा भुक्तानी प्रक्रियालाई डिजिटल, पारदर्शी र व्यवस्थित बनाइने जनाइएको छ।

स्वास्थ्य बीमा प्रणालीमा हुने अनावश्यक स्वास्थ्य परीक्षण, अनुचित बीमा दाबी तथा अन्य दुरुपयोग नियन्त्रणका लागि प्रभावकारी कानुनी र निगरानी प्रणाली विकास गर्ने पनि सरकारको प्राथमिकतामा परेको छ।

तीनै तहका सरकारबीच समन्वय गरी स्थानीय तहका आधारभूत स्वास्थ्य संस्था, प्रदेशका अस्पताल र सङ्घीय सरकारअन्तर्गतका स्वास्थ्य संस्थालाई स्वास्थ्य बीमा प्रणालीसँग जोड्ने योजना पनि अघि सारिएको छ। यसका लागि तीनै तहका सरकारको अधिकार, दायित्व, वित्तीय जिम्मेवारी र जवाफदेहिता स्पष्ट गरिने बताइएको छ।

हाल पाँच सदस्यसम्मको परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान गरेबापत एक लाख रुपैयाँसम्मको उपचार सुविधा पाउने व्यवस्था छ। हालसम्म एक करोड ६८ लाखभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएकोमा ६२ लाखभन्दा बढीको बीमा सक्रिय रहेको तथ्यांक प्रस्तुत गरिएको छ। देशभरका ५०२ स्वास्थ्य संस्था स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध छन्।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमको सफलता बीमित नागरिकको सङ्ख्याले मात्र नभई आवश्यक परेको समयमा नागरिकले सहज रूपमा उपचार पाउने अवस्था र कार्यक्रमको वित्तीय दिगोपनाले निर्धारण गर्ने जनाएको छ।

सक्षम नागरिकबाट क्षमताअनुसार योगदान लिने र योगदान गर्न असमर्थ नागरिकको जिम्मेवारी राज्यले वहन गर्ने व्यवस्था निर्माण गर्दै आर्थिक अभावका कारण कुनै पनि नेपाली उपचारबाट वञ्चित हुन नपर्ने अवस्था सिर्जना गर्ने सरकारको प्रतिबद्धता छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ