नेभिगेशन

नेशनल मेडिकल कलेजका पीजी प्रथम वर्षका चिकित्सकद्वारा सामूहिक राजीनामा

नेपाल हेल्थ न्युज, वीरगन्ज। वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) तहमा आवासीय तालिमरत प्रथम वर्षका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्।

सुरक्षित, सम्मानजनक र निष्पक्ष वातावरणमा तालिमलाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै चिकित्सकहरूले आफ्नो पदबाट सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले शिक्षा तथा खेलकुद मन्त्रालयलाई सम्बोधन गर्दै पेस गरेको राजीनामा पत्रमा अन्य विकल्प नदेखेपछि बाध्य भएर राजीनामा दिनुपरेको उल्लेख गरेका छन्।

चिकित्सकहरूले कलेजका कार्यशैली तथा अभ्यासविरुद्ध गत भदौ ३१ गतेदेखि शान्तिपूर्ण रूपमा पेन डाउन आन्दोलन सुरु गरेका थिए। आन्दोलनका क्रममा उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि पटक–पटक पहल गरेका थिए।

निवेदनअनुसार विगत दुई महिनाको अवधिमा शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीन कार्यालय तथा कलेज प्रशासनसँग पटक–पटक बैठकसमेत बसेको थियो। ती बैठकहरूमा चिकित्सकहरूले आफूहरूमाथि भएका भनिएका समस्यासम्बन्धी प्रमाणहरू पेस गरेका थिए।

तर, पटक–पटक छलफल र बैठक भए पनि सम्बन्धित निकायले समस्या समाधान गर्न नसकेको चिकित्सकहरूको आरोप छ। समस्या समाधान हुने आश्वासन मात्र दिइएको तर व्यवहारमा कुनै ठोस पहल नभएकाले परिस्थिति गम्भीर सङ्कटमा परिणत भएको उनीहरूले राजीनामा पत्रमा उल्लेख गरेका छन्।

चिकित्सकहरूले राजीनामा पत्रको बोधार्थ चिकित्सा शिक्षा आयोग, आईओएमको डीन कार्यालय र नेशनल मेडिकल कलेज प्रशासनलाई समेत दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट