नेपाल हेल्थ न्युज, काठमाडौं । आइरन चक्की खरिद प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको भन्दै केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका समाचारप्रति स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखाका पूर्वप्रमुख (हाल स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक) डा. कृष्णप्रसाद पौडेलले आपत्ति जनाउनुभएको छ । आफूलाई समेत जोडेर समाचार प्रकाशित गरिएको भन्दै उहाँले आइरन चक्कीको खरिद प्रक्रियामा आफ्नो कुनै प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पार्नुभएको हो ।
महाशाखाको प्रमुखका रूपमा चार वर्ष काम गरेको स्वीकार गर्दै उहाँले आफ्नो जिम्मेवारी बजेट निर्माण, स्रोत व्यवस्थापन र स्वास्थ्यका कार्यक्रमका लागि आवश्यक बजेट सुनिश्चित गर्नेसम्म सीमित रहेको बताउनुभयो । आइरन चक्कीको आवश्यकता निर्धारण, प्राविधिक विशिष्टता तयार गर्ने र खरिद प्रक्रिया सञ्चालन गर्ने जिम्मेवारी भने स्वास्थ्य सेवा विभागअन्तर्गतका सम्बन्धित महाशाखाको भएको उहाँको भनाइ छ । ‘नीति तथा योजना महाशाखाको मुख्य काम बजेट तयार गर्ने र स्वास्थ्यका कार्यक्रम प्रभावित नहुने गरी स्रोत सुनिश्चित गर्ने हो । कुन औषधि कति चाहिन्छ, त्यसको स्पेसिफिकेसन के हुने र कसरी खरिद गर्ने भन्ने जिम्मेवारी हाम्रो होइन,’ उहाँले भन्नुभयो ।
उहाँका अनुसार आइरन चक्की खरिदका लागि आवश्यक परिमाण निर्धारण गर्ने काम परिवार कल्याण महाशाखाले गर्छ । गर्भवती महिला र किशोरकिशोरीमा रक्तअल्पता रोकथामका लागि सञ्चालन हुने कार्यक्रमको लक्ष्य, लाभग्राहीको संख्या, मौज्दात र आपूर्ति व्यवस्थापनको अवस्थाका आधारमा आवश्यक औषधिको परिमाण निर्धारण गरिन्छ । त्यसपछि परिवार कल्याण महाशाखाले माग गरेको परिमाणअनुसार स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाले खरिद प्रक्रिया अगाडि बढाउने व्यवस्था छ । ‘वार्षिक रूपमा पाँच लाखभन्दा बढी गर्भवती महिलालाई लक्षित गरेर कार्यक्रम सञ्चालन हुन्छ । किशोरकिशोरीलाई विद्यालयमै आइरन फोलिक एसिड वितरण गरिन्छ । कति औषधि आवश्यक पर्छ, कति मौज्दात छ र कति खरिद गर्नुपर्छ भन्ने प्राविधिक हिसाब परिवार कल्याण महाशाखाले गर्छ । त्यसपछि व्यवस्थापन महाशाखाले खरिद गर्ने हो,’ उहाँले प्रस्ट्यानुभयो ।
बजेटको सिलिङभित्र सबै कार्यक्रम समेट्नुपर्ने बाध्यता
पूर्वमहाशाखा प्रमुखका अनुसार स्वास्थ्य क्षेत्रको बजेट निर्माण आफैँमा चुनौतीपूर्ण काम हो । स्वास्थ्य क्षेत्रका लागि कुल राष्ट्रिय बजेटको कम्तीमा १० प्रतिशत विनियोजन हुनुपर्ने माग हुँदै आए पनि व्यवहारमा करिब पाँच प्रतिशत हाराहारी मात्रै बजेट उपलब्ध हुने गरेको उहाँको भनाइ छ । सीमित स्रोतसाधनभित्र संघीय अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभागका विभिन्न महाशाखा, जनस्वास्थ्य कार्यक्रम, औषधि, उपकरण, तलबभत्ता र अन्य नियमित कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । ‘उदाहरणका लागि स्वास्थ्य मन्त्रालयलाई संघीय बजेटको सिलिङ ४६ अर्ब रुपैयाँ दिइयो भने त्यही रकमभित्र संघीय निकाय, अस्पताल र सशर्त कार्यक्रम सबै समेट्नुपर्छ । माग धेरै हुन्छ, तर स्रोत सीमित हुन्छ,’ उहाँले भन्नुभयो ।उहाँका अनुसार नीति तथा योजना महाशाखाले विभिन्न निकायबाट प्राप्त बजेट प्रस्तावको अध्ययन गरी लागत प्रभावकारिता र प्राथमिकताका आधारमा बजेट मिलाउने काम गर्छ ।
यस क्रममा कतिपय कार्यक्रमको प्रस्तावित बजेट घटाउनुपर्ने अवस्था पनि आउने गरेको छ । उदाहरणका लागि कुनै अस्पतालले सिटी स्क्यान मेसिन खरिद गर्न सात करोड रुपैयाँ माग गरेमा बजार मूल्य र लागत प्रभावकारिताको अध्ययन गरेर कम लागतमा पनि आवश्यक उपकरण उपलब्ध हुन सक्ने अवस्था भए बजेट प्रस्ताव परिमार्जन गरिने उहाँले बताउनुभयो ।
‘हाम्रो काम सबैले मागेको रकम जस्ताको तस्तै उपलब्ध गराउने होइन । उपलब्ध स्रोतभित्र आवश्यक कार्यक्रमलाई प्राथमिकता दिने र लागत प्रभावकारिता हेर्ने हो,’ उहाँले भन्नुभयो ।
आइरन चक्की खरिदमा नीति तथा योजना महाशाखाको भूमिका के ?
उहाँले आइरन चक्की खरिदको विषयमा नीति तथा योजना महाशाखाको भूमिका बजेट विनियोजन र स्रोत सुनिश्चित गर्ने तहसम्म मात्रै रहेको दाबी गर्नुभयो ।
उहाँका अनुसार बजेट संसद्बाट पारित हुने भएकाले महाशाखा प्रमुख एक्लैले बजेट निर्धारण गर्ने वा खरिद प्रक्रिया प्रभावित पार्ने अवस्था हुँदैन । आवश्यकताअनुसार बजेट थपघट, रकमान्तर तथा स्रोत व्यवस्थापनका लागि सम्बन्धित निकायबाट प्रस्ताव आउँछ र निर्णय गर्ने अधिकारप्राप्त अधिकारीबाट निर्णय हुन्छ ।
‘हामीले स्रोत व्यवस्थापन गरेर विभागमा पठाउने हो । विभागले सार्वजनिक खरिद ऐन र नियमावलीअनुसार खरिद प्रक्रिया अगाडि बढाउने हो । मन्त्रालयबाट बजेट गएको भन्दैमा सम्बन्धित निकायको खरिद प्रक्रियामा हाम्रो संलग्नता हुन्छ भन्ने होइन,’ उहाँले भन्नुभयो । उहाँले संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले खरिद गर्ने औजार, उपकरण र अन्य सामग्रीको खरिद सम्बन्धित निकायले प्रचलित कानुनअनुसार नै गर्नुपर्ने बताउनुभयो ।
८७ पैसाको खरिद र बजार मूल्यबीच तुलना गर्न मिल्छ ?
आइरन चक्कीको बजार मूल्य र खरिद मूल्यबीच देखिएको अन्तरबारे सञ्चारमाध्यममा उठेका प्रश्नका सम्बन्धमा उहाँले फरक समयमा र फरक निकायले गरेको खरिदलाई सोझै तुलना गर्न नमिल्ने धारणा राख्नुभयो । उहाँका अनुसार औषधिको बजार मूल्य, एमआरपी, थोक मूल्य र सरकारी खरिद मूल्य फरक विषय हुन् । कुनै औषधिको खुद्रा बजार मूल्य साढे दुईदेखि साढे तीन रुपैयाँसम्म रहेको र थोक खरिदमा ८७ पैसाको मूल्य उल्लेख भएको विषयमा उहाँले सम्बन्धित खरिदका सर्त र प्राविधिक पक्षसमेत अध्ययन गर्नुपर्ने बताउनुभयो । ‘दुईवटा टेन्डरको मूल्य तुलना गर्दा खरिदको परिमाण, औषधिको गुणस्तर, स्पेसिफिकेसन, एक्सपायरी डेट, आपूर्तिको सर्त र अन्य प्राविधिक पक्ष पनि हेर्नुपर्छ । बजारको एमआरपी र सरकारी थोक खरिद मूल्य एउटै हुँदैन,’ उहाँले भन्नुभयो ।
उहाँले एउटै औषधि पनि विभिन्न सरकारी अस्पतालले फरक–फरक मूल्यमा खरिद गर्ने गरेको उदाहरण दिनुभयो । वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल र गंगालाल अस्पतालले खरिद गर्ने औषधिको मूल्य एउटै नहुन सक्ने उहाँको भनाइ छ । ‘एउटै पारासिटामोल, एस्पिरिन वा एम्लोडिपिनको खरिद मूल्य पनि अस्पतालअनुसार फरक हुनसक्छ । खरिदको परिमाण, स्पेसिफिकेसन, आपूर्तिको स्थान र अन्य सर्तले मूल्यमा प्रभाव पार्छन् । त्यसैले एउटा ठाउँमा भएको खरिद मूल्य अर्को ठाउँको खरिदसँग तुलना गर्दा सबै पक्ष हेर्नुपर्छ,’ उहाँले भन्नुभयो ।
उहाँले आइरन चक्की खरिदमा कुन कम्पनीले कति मूल्य प्रस्ताव गरेको थियो, कुन कम्पनीको प्रस्ताव स्वीकृत भयो र खरिदका प्राविधिक सर्त के थिए भन्ने विषयमा सम्बन्धित खरिद निकायबाट तथ्यगत जानकारी लिनुपर्ने बताउनुभयो । आफू खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न नभएकाले मूल्य अन्तरको प्राविधिक कारणबारे थप टिप्पणी गर्न नसक्ने उहाँको भनाइ छ ।
स्वास्थ्य सामग्री खरिदमा प्राविधिक मापदण्ड महत्वपूर्ण
उहाँका अनुसार सरकारी औषधि खरिदमा औषधिको मात्रा, गुणस्तर, उत्पादन मापदण्ड र प्राविधिक विशिष्टता पहिल्यै निर्धारण गरिएको हुन्छ । औषधिको प्रकृतिअनुसार डब्लूएचओ जीएमपी तथा आवश्यकताअनुसार डब्लूएचओ प्रिक्वालिफिकेसनजस्ता मापदण्डलाई आधार बनाइन्छ ।
आइरन चक्कीको खरिदमा पनि परिवार कल्याण महाशाखाले आवश्यक प्राविधिक विशिष्टता तयार गर्ने र व्यवस्थापन महाशाखाले विगतको खरिद मूल्य, बजार मूल्य तथा अन्य उपलब्ध आधारमा लागत अनुमान तयार गर्ने प्रक्रिया रहने उहाँले बताउनुभयो ।
उहाँका अनुसार नेपालमा आइरन चक्की उत्पादन गर्ने विभिन्न कम्पनी रहेकाले खरिद प्रक्रियामा प्रतिस्पर्धा र गुणस्तर दुवैलाई महत्व दिनुपर्छ । ‘सबैभन्दा कम मूल्य मात्रै हेरेर पुग्दैन, औषधिको गुणस्तर र प्राविधिक मापदण्ड पनि पूरा भएको हुनुपर्छ । तर खरिद प्रक्रिया कानुनअनुसार प्रतिस्पर्धात्मक र पारदर्शी हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
एकपक्षीय समाचारले कर्मचारीलाई जोखिम लिन निरुत्साहित गर्छ
पूर्वमहाशाखा प्रमुखले आफूलाई कुनै जानकारी वा प्रतिक्रिया नलिई फोटोसहित समाचार प्रकाशित गरिएको भन्दै पत्रकारिताको सन्तुलनमाथि पनि प्रश्न उठाउनुभयो । उहाँका अनुसार कुनै व्यक्तिमाथि आरोप लगाउँदा सम्बन्धित व्यक्तिको भूमिका र जिम्मेवारी बुझ्नुका साथै आरोपित पक्षको भनाइसमेत समेटिनुपर्छ ।
‘मलाई सोधिएको भए मेरो जिम्मेवारी के हो, बजेट कसरी व्यवस्थापन हुन्छ र खरिद प्रक्रियामा मेरो भूमिका के हुन्छ भन्ने कुरा स्पष्ट पार्न सक्थेँ । मेरो प्रतिक्रिया नै नलिई फोटो राखेर दोषी नै हो कि जस्तो गरी समाचार सम्प्रेषण गर्नु उचित होइन,’ उहाँले भन्नुभयो । उहाँले आफ्नो कामप्रति प्रश्न उठाउन र आलोचना गर्न सबैलाई अधिकार भए पनि तथ्य र जिम्मेवारीको स्पष्टता आवश्यक रहेको बताउनुभयो ।
‘हामीले गरेको काममा चित्त नबुझ्न सक्छ । आलोचना गर्न पाइन्छ । तर कसैलाई लक्षित गरेर मिडिया ट्रायल गर्नु उचित होइन । कर्मचारीले कानुनको परिधिभित्र रहेर काम गर्ने हो, सबैलाई खुसी पार्न सकिँदैन,’ उहाँले भन्नुभयो ।
खरिद प्रक्रियामा कर्मचारी डराउने अवस्था आउनु हुँदैन
स्वास्थ्य सामग्री खरिदमा हुने विवाद र आरोपका कारण कर्मचारीहरू जिम्मेवारी लिन डराउने अवस्था सिर्जना हुन सक्ने उहाँको चिन्ता छ ।
उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा खोप, परिवार नियोजनका सामग्री, औषधि, उपकरण र अन्य अत्यावश्यक सामग्रीको नियमित आपूर्ति सुनिश्चित गर्नु राज्यको दायित्व हो । खरिद प्रक्रियामा संलग्न हुने कर्मचारीलाई निरन्तर आरोप र व्यक्तिगत लाञ्छनाको सामना गर्नुपर्ने अवस्था आएमा अत्यावश्यक सामग्री खरिदमै असर पर्न सक्ने उहाँले बताउनुभयो ।
‘स्रोत व्यवस्थापन गरे पनि जोखिम, टेन्डर गरे पनि जोखिम र मूल्यांकन गरे पनि जोखिम हुने अवस्था आयो भने कर्मचारीले काम गर्न कसरी अघि बढ्ने ? भोलि एक्सरे, अल्ट्रासाउन्ड वा अत्यावश्यक औषधि नै खरिद नगर्ने अवस्था आउन सक्छ,’ उहाँले भन्नुभयो । उहाँले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भए त्यसको निष्पक्ष अनुसन्धान हुनुपर्ने तर जिम्मेवारी र अधिकारको तह नबुझी व्यक्तिलाई जोडेर आरोप लगाउनु उचित नहुने बताउनुभयो ।
‘हाम्रो एउटै उद्देश्य जनस्वास्थ्यका कार्यक्रम प्रभावित नहुन्, आवश्यक औषधि, उपकरण र जनशक्तिको व्यवस्थापन होस् भन्ने हो । कुनै खरिदमा समस्या देखिएको छ भने त्यसमा संलग्न निकाय र व्यक्तिले जवाफ दिनुपर्छ । तर खरिदमा संलग्न नै नभएको व्यक्तिलाई जोडेर समाचार बनाउनु न्यायसंगत हुँदैन,’ उहाँले भन्नुभयो । छानबिन र समाचार सम्प्रेषण गर्दा बजेट विनियोजन गर्ने निकाय, औषधिको आवश्यकता निर्धारण गर्ने निकाय र वास्तविक खरिद गर्ने निकायबीचको जिम्मेवारी स्पष्ट छुट्याउनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
अदालतको आदेशपछि औषधि व्यवसायी संघको निर्वाचन स्थगित, अधिवेशन अन्योलमा
बिहीबार, मंसिर ३, २०८३
औषधिको प्रभावकारिता जोगाउन सचेतनाबाट कार्यान्वयनतर्फ अघि बढ्न डब्लुएचओको आव्हान
बुधबार, मंसिर २, २०८३


