नेभिगेशन

डब्ल्यूएचओको क्षेत्रीय निर्देशक बन्न चार देशको दौड, समर्थन जुटाउन नेपालको कूटनीतिक सक्रियता

नेपाल हेल्थ न्युज, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण–पूर्वी एसिया क्षेत्रीय निर्देशक पदमा नेतृत्व हासिल गर्न नेपालसहित चार देशबीच प्रतिस्पर्धा चर्किएको छ। आफ्नो उम्मेदवारलाई विजयी गराउने रणनीतिसहित नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकाले सदस्य राष्ट्रहरूसँग कूटनीतिक सम्पर्क विस्तार गरिरहेका छन्।

यसपटकको निर्वाचनमा सदस्य राष्ट्रहरूको समर्थन निर्णायक हुने भएकाले उम्मेदवारहरू आफ्नो पक्षमा मतपरिणाम पार्न उच्चस्तरीय संवाद र भेटघाटमा सक्रिय भएका हुन्। विशेषगरी बंगलादेशको समर्थन कसले प्राप्त गर्छ भन्ने विषयले निर्वाचनको समीकरणलाई थप रोचक बनाएको छ।

बंगलादेशको समर्थन आफ्नो पक्षमा पार्न भुटानले पछिल्लो समय उच्चस्तरीय कूटनीतिक पहल गरेको छ। बंगलादेशको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार भुटानका पूर्वप्रधानमन्त्री तथा क्षेत्रीय निर्देशक पदका उम्मेदवार साङ्गे न्गेदुपले नोभेम्बर २२ मा ढाकामा परराष्ट्र राज्यमन्त्री हुमायुन कबिरसँग भेट गरेका थिए।

उक्त भेटमा न्गेदुपले आफ्नो उम्मेदवारीसँगै क्षेत्रीय स्वास्थ्य सहकार्यलाई प्रभावकारी बनाउने योजनाबारे जानकारी गराएका थिए। नोभेम्बर २५ मा बंगलादेशको परराष्ट्र मन्त्रालयले भेटसम्बन्धी विवरण सार्वजनिक गरेको थियो।

यसअघि बंगलादेशले माल्दिभ्सका उम्मेदवारप्रति सकारात्मक धारणा राखेको संकेत दिएको थियो। सेप्टेम्बर १३ मा बंगलादेशका परराष्ट्र राज्यमन्त्री कबिरले माल्दिभ्सका उम्मेदवारको योग्यता र कार्यसम्पादनको प्रशंसा गर्दै समर्थनको सम्भावना औंल्याएका थिए। तर भुटानको पछिल्लो सक्रियताले बंगलादेशको अन्तिम निर्णयबारे चासो बढाएको छ।

माल्दिभ्सले नोभेम्बर १८ मा पूर्वस्वास्थ्यमन्त्री डा. अहमद जमशीद मोहम्मदलाई औपचारिक उम्मेदवार बनाएको थियो। तीन दशकभन्दा लामो स्वास्थ्य क्षेत्रको अनुभव भएका उनी हाल बंगलादेशका लागि डब्ल्यूएचओ प्रतिनिधिका रूपमा कार्यरत छन्। यसअघि उनले उत्तर कोरियामा डब्ल्यूएचओ प्रतिनिधि तथा दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।

नेपालको ध्यान टिमोर–लेस्टेको समर्थनमा
अन्य प्रतिस्पर्धी मुलुकले जस्तै नेपालले पनि आफ्नो उम्मेदवार डा. संगीता कौशल मिश्राका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेको छ। नयाँ दिल्लीस्थित टिमोर–लेस्टेको दूतावासले सार्वजनिक गरेको विवरणअनुसार डा. मिश्राले अक्टोबर २८ मा टिमोर–लेस्टेका राजदूत कार्लितो नुनेस र प्रथम सचिव औरेलियो बारोससँग भेट गरेकी थिइन्।

भेटका क्रममा उनले डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयको भूमिका, सदस्य राष्ट्रहरूको स्वास्थ्य प्राथमिकता र आफू निर्वाचित भएमा अघि बढाउने योजनाबारे छलफल गरेकी थिइन्।

टिमोर–लेस्टेका राजदूतले मिश्राको स्वास्थ्य क्षेत्रको नेतृत्व र अनुभवप्रति चासो देखाए पनि नेपालको उम्मेदवारीलाई समर्थन गर्ने औपचारिक घोषणा भने सार्वजनिक भएको छैन।

नेपालले अघि सारेकी मिश्रासँग चिकित्सकीय सेवा, स्वास्थ्य प्रशासन र जनस्वास्थ्यको अनुभव छ। भारतबाट एमबीबीएस अध्ययन गरेकी उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रसूति तथा स्त्रीरोग विषयमा विशेषज्ञता हासिल गरेकी छन्। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातकोत्तरसमेत गरेकी उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक तथा प्रसूति गृह र कोशी अस्पतालको नेतृत्व गरिसकेकी छन्।

नयाँ व्यवस्थाअनुसार उम्मेदवारको मूल्याङ्कन
डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा ११ सदस्य राष्ट्र छन्। क्षेत्रीय निर्देशक चयनमा सदस्य राष्ट्रहरूको मत महत्त्वपूर्ण हुने भएकाले कूटनीतिक समर्थनसँगै उम्मेदवारको व्यावसायिक क्षमता पनि निर्णायक बन्नेछ।

यसपटक उम्मेदवारहरूको योग्यता र नेतृत्व क्षमताको निष्पक्ष मूल्याङ्कन गर्न स्वतन्त्र विज्ञहरूको समूह गठन गर्ने व्यवस्था गरिएको छ। सदस्य राष्ट्रबाट एक–एक जना विज्ञ समेटिने उक्त समूहले उम्मेदवारहरूको शैक्षिक पृष्ठभूमि, अनुभव, व्यवस्थापकीय दक्षता तथा क्षेत्रीय स्वास्थ्य क्षेत्रमा योगदानको अध्ययन गर्नेछ।

त्यस्तै, उम्मेदवारहरूलाई आफ्नो कार्ययोजना र प्राथमिकता प्रस्तुत गर्ने अवसर दिन क्यान्डिडेट्स फोरम पनि सञ्चालन गरिनेछ। यसमार्फत सदस्य राष्ट्रका प्रतिनिधिले उम्मेदवारहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्न सक्नेछन्।

मूल्याङ्कन र अन्य प्रक्रिया पूरा भएपछि क्षेत्रीय समितिको विशेष बैठकमा गोप्य मतदान हुनेछ। समितिबाट मनोनयन भएका उम्मेदवारलाई डब्ल्यूएचओको कार्यकारी बोर्डले औपचारिक रूपमा नियुक्त गर्नेछ।

निर्धारित कार्यतालिकाअनुसार जनवरी २३, २०२७ मा जेनेभामा क्षेत्रीय समितिको विशेष बैठक बस्नेछ। त्यसपछि जनवरी २५ देखि फेब्रुअरी २ सम्म सञ्चालन हुने कार्यकारी बोर्डको १६०औँ बैठकबाट नियुक्ति प्रक्रिया टुंगिने अपेक्षा गरिएको छ।

क्षेत्रीय नेतृत्वमा नेपालको चौथो प्रयास
दक्षिण–पूर्वी एसियाको क्षेत्रीय नेतृत्व हासिल गर्ने नेपालको प्रयास यसअघि पनि सफल हुन सकेको छैन। नेपालले सन् १९९३ मा डा. मृगेन्द्रराज पाण्डे, सन् २००३ मा डा. रीता थापा र सन् २०२३ मा डा. शम्भु आचार्यलाई उम्मेदवार बनाएको थियो।

पछिल्लो निर्वाचनमा नेपाली उम्मेदवार आचार्यले १० मतमध्ये दुई मत प्राप्त गर्दा बंगलादेशकी साइमा वाजेदले आठ मत पाएकी थिइन्। यसपटक डा. मिश्रालाई उम्मेदवार बनाएर नेपालले क्षेत्रीय नेतृत्वमा पुग्ने अर्को प्रयास गरेको छ। विगतका निर्वाचनमा अपेक्षित समर्थन जुटाउन नसकेको अनुभवका कारण यसपटक नेपालको कूटनीतिक सक्रियतालाई पनि महत्त्वका साथ हेरिएको छ। चार मुलुकका उम्मेदवारबीचको प्रतिस्पर्धामा अन्ततः कसले सदस्य राष्ट्रहरूको विश्वास जित्छ भन्ने कुरा आगामी निर्वाचनले निर्धारण गर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट
ट्रेन्डिङ