नेपाल हेल्थ न्युज, काठमाडौं। स्वास्थ्य सेवा सर्वसुलभ र प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एमडी एमएस र एमडीएस उत्तीर्ण ८३८ जना विशेषज्ञ चिकित्सकलाई देशका सातै प्रदेशमा खटाएको छ। यससँगै विशेषज्ञ उपचारका लागि काठमाडौं तथा ठूला सहर धाउनुपर्ने बाध्यता क्रमशः कम हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै विशेषज्ञ चिकित्सक बागमती प्रदेशमा २०८ जना खटाइएको छ। त्यस्तै कोशी प्रदेशमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णाली प्रदेशमा ५२ जना विशेषज्ञ चिकित्सक परिचालन गरिएको छ।
कुल ८३८ विशेषज्ञ चिकित्सकमध्ये ५११ जना प्रदेश स्वास्थ्य मन्त्रालयमा खटिएका छन्। संघीय सरकारबाट प्रदेशमा खटाइएका चिकित्सकलाई सम्बन्धित प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रअनुसार स्थानीय तहका स्वास्थ्य संस्थामा समेत परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ।
यसले स्थानीय तहसम्म विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न तथा नागरिकलाई आफ्नै क्षेत्रमा गुणस्तरीय उपचार उपलब्ध गराउन सहयोग पुग्ने मन्त्रालयको अपेक्षा छ। बाँकी ३२७ जना विशेषज्ञ चिकित्सकलाई भने संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खटाइएको छ।
मन्त्रालयका अनुसार विशेषज्ञ चिकित्सक परिचालनसँगै एनेस्थेसिया, स्त्री तथा प्रसूति रोग, जनरल सर्जरी, हाडजोर्नी, मेडिसिन, आकस्मिक सेवा, आँखा, बाल रोग, दन्त तथा मानसिक स्वास्थ्यलगायतका सेवाहरू थप सुदृढ हुनेछन्।
विशेषगरी सुरक्षित सुत्केरी सेवा, शल्यक्रिया तथा आकस्मिक उपचारमा विशेषज्ञ चिकित्सकको उपलब्धताले थप सहजता ल्याउने अपेक्षा गरिएको छ।
सातै प्रदेशमा विशेषज्ञ चिकित्सकको उपलब्धता बढेसँगै स्वास्थ्य सेवामा पहुँच विस्तार हुनुका साथै उपचारका लागि लामो दूरी यात्रा गर्नुपर्ने र ठूला सहरमा निर्भर हुनुपर्ने अवस्था न्यूनीकरण हुने विश्वास गरिएको छ।
डब्ल्यूएचओको क्षेत्रीय निर्देशक बन्न चार देशको दौड, समर्थन जुटाउन नेपालको कूटनीतिक सक्रियता
शुक्रबार, मंसिर ११, २०८३
आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
शुक्रबार, मंसिर ११, २०८३
जाडो महिनामा निमोनियाबाट कसरी बच्ने ?
शुक्रबार, मंसिर ११, २०८३
सबै नागरिकलाई स्वास्थ्य बीमामा अनिवार्य आबद्ध गर्ने सरकारको तयारी
शुक्रबार, मंसिर ११, २०८३
