नेभिगेशन

बीएस्सी नर्सिङको नतिजा सार्वजनिक, १० हजार ८०५ विद्यार्थी उत्तीर्ण

नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातक तह एकीकृत प्रवेश परीक्षा अन्तर्गत बीएस्सी नर्सिङ तथा बीएस्सी मिडवाइफ्रीको नतिजा सार्वजनिक गरेको छ।

आयोगले गत कात्तिक १६ गते सञ्चालन गरेको परीक्षामा सहभागी उम्मेदवारमध्ये योग्यताक्रममा पर्न सफल विद्यार्थीको नतिजा सार्वजनिक गरेको हो। आयोगका अनुसार बीएस्सी नर्सिङ तथा बीएस्सी मिडवाइफ्री समूहमा कुल २२ हजार २६८ जनाले आवेदन दिएका थिए। तीमध्ये २१ हजार ५३४ जना परीक्षामा सहभागी भएका थिए भने ७३४ जना अनुपस्थित भएका थिए।

परीक्षामा सहभागीमध्ये १० हजार ८०५ जना विद्यार्थी योग्य ठहरिएका छन्। यस समूहको कटअफ स्कोर ४८ रहेको छ भने परीक्षामा सर्वाधिक १८१ अङ्क प्राप्त भएको छ।

यस वर्ष बीएस्सी नर्सिङ अध्ययनका लागि दुई हजार ६४० र बीएस्सी मिडवाइफ्रीका लागि ४० गरी कुल दुई हजार ६८० सिट निर्धारण गरिएको छ। उपलब्ध सिटको तुलनामा योग्य विद्यार्थीको सङ्ख्या करिब चार गुणा बढी छ। त्यस्तै, परीक्षामा सहभागी कुल विद्यार्थीको सङ्ख्याका आधारमा प्रतिसिट करिब आठ जनाबीच प्रतिस्पर्धा देखिएको छ।

आयोगले बीएएसएलपी र ब्याचलर इन पर्फ्युजन टेक्नोलोजी कार्यक्रमको नतिजासमेत सार्वजनिक गरेको छ। बीएएसएलपीको परीक्षामा १४५ जना सहभागी भएकामा १६ सिट निर्धारण गरिएको छ। उक्त कार्यक्रमको कटअफ स्कोर ६१.७५ र उच्चतम प्राप्ताङ्क १६५.२५ रहेको छ।

त्यसैगरी, ब्याचलर इन पर्फ्युजन टेक्नोलोजीको परीक्षामा १०४ जना सहभागी भएका थिए। यस कार्यक्रमका लागि एक सिट मात्रै निर्धारण गरिएको छ। यसको कटअफ स्कोर ७३.७५ र उच्चतम प्राप्ताङ्क १७६.२५ रहेको आयोगले जनाएको छ।

आयोगका अनुसार परीक्षार्थीले आफ्नो प्रोफाइलमार्फत पनि प्रकाशित नतिजा हेर्न सक्ने व्यवस्था मिलाइएको छ। उत्तरपुस्तिका (ओएमआर सिट) मा रोल नम्बर वा प्रश्नपत्र सेटको बबल सही तरिकाले नभरेका परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ।

बीएस्सी नर्सिङ तथा बीएस्सी मिडवाइफ्रीतर्फ रोल नम्बरको बबल सही तरिकाले नभर्ने ९६ जना, सेट र रोल नम्बर दुवैमा बबल सही तरिकाले नभर्ने पाँच जना तथा प्रश्नपत्र सेटको बबल सही तरिकाले नभर्ने ७८ जनाको उत्तरपुस्तिका रद्द गरिएको आयोगले जनाएको छ।

त्यस्तै, ब्याचलर इन पर्फ्युजन टेक्नोलोजीतर्फ रोल नम्बरको बबल सही तरिकाले नभरेका एक जना परीक्षार्थीको उत्तरपुस्तिका रद्द गरिएको छ। आयोगले पुनर्योग (रिटोटलिङ) सम्बन्धी सूचना पछि प्रकाशन गरिने जनाएको छ।

थप जानकारीका लागि यो लिंकमा क्लिक गर्नुहोस्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट