नेभिगेशन

चिकित्सा पेसा व्यवसाय बन्नु हुँदैन

[caption id="attachment_16273" align="alignnone" width="779"] वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी[/caption] आजकल पूर्णरुपले निरोगी मानिस भेट्न गाह्रो छ । सानो–ठुलो रोग सबैलाई लाग्छ । सानो तिनो रोग दबाएर पनि राखिन्छ । कतिपय रोगलाई घरमै बेसार–पानीले ठिक पारिन्छ । कतिपय अवस्थामा औषधी व्यवसायीसँग सोधेर पसलबाट औषधीहरु किनेर खाइन्छ । ठुलै रोगले छोएको रहेछ भने डाक्टरको शरणमा नगइ सुखै छैन । नेपालमा डाक्टरी पेसामा लागेकाहरुको संख्या ६ हजार नाघिसकेको छ । ९० प्रतिशत डाक्टर चिकित्सा पेसालाई व्यवसायकै रुपमा सञ्चालन गरिराखेका छन् । नेपालमा डाक्टरले आफुले पढेको चिकित्साशास्त्रको विद्यालाई अर्थोपार्जन गर्ने हतियारको रुपमा प्रयोग गरेको पाइन्छ । यसो नगरि उसलाई सुखै छैन, किनकी उसको आम्दानीको अर्को स्रोत छैन । डाक्टरको अम्दानी अथवा कमाइ जे भने पनि रोगीले उपचार, परामर्श, परिक्षण, अप्रेसन आदि विविध सेवा लिएवापत उसले चिकित्सक वा स्वास्थ्य संस्थालाई बुझाउने पैसा हो । रोगीको जति धेरै पैसा खर्च हुन्छ त्यति धेरै आम्दानी डाक्टर अथवा स्वास्थ्य संस्थाको हुन्छ । यो सोझो हिसाव हो । डाक्टरले रोगीको बाध्यताबाट आफ्नो पेसा चलाउनुपर्ने अत्यन्तै तीतो यथार्थ सबैका सामु छर्लङ्गै छ । चिकित्सा क्षेत्रमा बढ्दो निजकिरणले गर्दा चिकित्सा पेसाको व्यवसायीकरण भएको छ । चिकित्सकहरु चिकित्सा व्यवसायी भएका छन् । यसो हुनुमा निजीमा निजीकरणले भुमिका खेलेको छ । अर्कोतर्फ डाक्टरको अम्दानीको अर्को स्रोत नभएपछि डाक्टरी विद्यालाई बेचेर जति सक्यो धेरै आम्दानी गर्ने चाहाना उत्पन्न हुनु पनि स्वाभाविकै हो । सबैले आफ्नो पेसाको उपयोग गरि आम्दानी गर्ने हो । डाक्टरहरु पनि यसमा अपवाद बन्न कहा सक्लान र ! तर चिकित्सा पेसा अरुभन्दा अलि बेग्लै किसिमको प¥यो । यो पेसा जीवन मरण र मानविय संवेदनासँग गाँसिएको हुनाले अलि बेग्लै तबरले सोच्नुपर्छ भन्ने जनचाहाना भएको देखियो । चिकित्सा पेसालाई व्यवसायिक बनाउनु हुदैँन, यो सेवामुलक पेसाको रुपमा रहनुपर्छ र कसैको आम्दानीको स्रोतका रुपमा रहनुहुदँैन भन्ने आवाज प्रशस्त उठेको पाइयो । चिकित्सा पेसा व्यवसाय बन्दा उत्पन्न हुन सक्ने विकृतिको एउटा सानो नमुना पेस गर्दै छु । काठमाडौँको लाजिम्पाटमा एउटा मिठाइ पसल छ, जसको नाम हो तृष्ण मिष्ठान्न भण्डार । एउटा समय यो मिठाइ पसल एकदमै चर्चामा रह्यो । यो चर्चित हुनुको कारण यहाँ राम्रो मिठाइ पाइने भएकोले भने होइन । यो चर्चित हुनुको कारण हो यसको ठिक अगाडि साइनबोर्ड झुन्ड्याएर बसेको एक चिकित्सा व्यवसायि । उनले मुटुरोगीहरुलाई होल्टर (२४ घण्टे मुटुको धडकन नाप्ने) परिक्षण सेवा उपलब्ध गराएका थिए । यिनले अन्य डाक्टरहरुलाई राम्रो संग चित्त बुझ्ने गरि बिरामी परिक्षणको लागि पठाएबापत राम्रैसँग पैसा दिने गरेका रहेछन् । डाक्टरले आफ्नो पुर्जामा हल्टर टेस्ट गर्न फलानोमा जाने भनि ठेगाना लेखिदिँदा तृष्णा मिष्ठान्न भण्डारको अगाडि पट्टि भनी आफ्नो नाम प्रष्टसँग बझिनेगरि लेखेर सहिछाप गरिदिँदा रहेछन् । दिनमा दशौँ जना मुटु बिरामीहरु तृष्णा मिष्ठान्न भण्डार खोज्दै लाजिम्पाट पुग्दा रहेछन् । यस्ता धेरै डाक्टरी पुर्जा भेटिन थालेपछि मलाइ पनि जिज्ञासा भयो – यसबारे बुझ्न एकजना मेरा सहयोगीलाई त्यस ठाउमा पठाई सो चिकित्सा व्यवसायिलाई म कहाँ भेट्न आउन भनि खबर पठाए । साथमा यो सन्देश पनि पठाए की मैले पनि दैनिक धेरै सँख्यामा मुटुरोगी जाँच्ने गरेको छु , यसकारण उसको व्यवसायमा म पनि सहयोगी बन्न सक्छु भनेर । यो सन्देश पाएपछि उ दगुर्दै वीर अस्पतालमा मलाइ भेट्न आयो । मैले उसलाई सोधे ‘एउटा बिरामीको हल्टर परिक्षण गर्न पठाए बापत तिमिले मलाई कति पैसा दिन्छाँै ?’ उसले हास्दैँ भन्यो –‘ ८०० सय रुपैया टक्र्याउछु सर ।’ मैले पनि फेरि हास्दै सोधे –‘ १००० रुपिया दिन सक्छौँ भने मात्र बिरामी पठाउला ?’ उसले एकदिन मनमनै हिसाब ग¥यो र ‘हुन्छ सर १००० रुपैया नै सरलाइै टक्र्याउछु ।’ म आर्चय चकित भए । २०००–२५०० पर्ने परिक्षण गर्न पठाएबापत अन्य कुनै सेवा उपलब्ध नगराइ बसिबसि १००० रुपैया आम्दानी गर्न सकिने यो भन्दा राम्रो व्यापार के होला ! त्यसपछि उसलाई राम्रो सँग गाली गरेर आइन्दा यस अस्पतालभित्र नपस्नू भनि बाहिर निकालिदिएँ । हल्टर परिक्षण गर्ने सेवा मैले पनि प्रदान गर्दै आएको छु ललितपुर हार्ट क्लिनिक मार्फत । यस परिक्षणको रिर्पोट बनाइदिए बापत मैले जम्मा २ सय रुपैया सेवाशुल्क मार्फत लिने गरेको छुु । परिक्षण शुल्क भने बिरामीलाई १६०० रुपैया पर्छ । लाजिम्पाटका ति चिकित्सा व्यवसायिले दिने पैसाको प्रलोभनमा परेर कतिपय डाक्टरले आवश्यक नै नपरेका रोगीहरुलाई पनि हल्टर परिक्षण गराउन धमाधम पठाउदा रहेछन् ।
पखाला चलेर जचाँउन गएको ‘अलि अलि मुटु पनि हल्लीन्छ’ भनेको थिए डाक्टरसाहेबले हल्टर जचाँउन लाजिम्पाटको तृष्णा मिष्ठान्न भण्डार अगाडि जाउ भनेर पठाउनुभयो ।, छाति चस्कियो भनी जचाँउन गएको हल्टर जाँच गरेर आउन लाजिम्पाटको ठेगाना लेखिदिनुभयो आदि इत्यादि शब्दहरु विरामीले पोख्न थाले । आवश्यक भएको बिरामीलाई परिक्षण गर्नु ठिक छ तर आवश्यक नै नभएको रोगीलाई ८ सय आउछ भन्ने लोभमा २५ सय खर्च गराइदिनु पक्कै पनि हिप्पोक्राटिक ओथ माथिको गद्दारी हो ।
यो चिकित्सा पेसाको प्रचुर व्यवसायिकरणको नमुना हो ।यस्तै प्रकारले विरामीको अनावश्यक परिक्षण गराउने, अनावश्यक अपरेशन गरिदिने, आवश्यक नहुदा पनि प्राइभेट अस्पतालमा भर्ना गराई उपचार गर्ने, अनावश्यक अनावश्यक औषधी सिफारिस गर्ने , धेरै पटक परामर्शको लागि क्लिनिक बोलाइराख्ने आदि पनि व्यवसाइकरणकै उदाहरण हुन् । यि सब कुराहरुबाट बिरामीलाई शारिरीक र मानसिक हानी छैन भनेपनि ल भैगो विरामी शिक्षित नभएकाले यस्तो भन्न सकिन्छ । जब आवश्यक नै नपरेको अपरेशन अथवा कुनै परिक्षण गरि त्यसबाट बिरामीको शारीरिक , मानसिक र आर्थिक शोषण गरिन्छ अनि बिरामीको अंग भंग हुन्छ भने त्यो भन्दा ठुलो गद्धारी चिकित्सा पेसामा केहि छैन् । यो घटनाबारे मैले एक जना पत्रकारलाई जानकारी गराएँ । उनले यसप्रकार भैइरहेको बिरामीहरुको आर्थिक शोषणबारे खोजपुर्ण विस्तृत विवरण पत्रिकामा प्रकाशन गरिदिए । त्यस पछि तृष्ण मिष्ठान्न भोजन अगाडिको ठेगानामा जानु भन्ने डाक्टरी पुर्जिमा कमि आयो । डाक्टरले आफ्नो पेसा सञ्चालन गर्दा बिरामीको आर्थिक शोषण गर्नुहुदैँन । उसको बाध्यताको फाइदा उठाउनु हुदैँन भन्ने मान्यता राख्नुपर्छ । धेरैले यो मान्यतालाई बुझेका पनि छन् र व्यवहारमा उतारेका पनि छन् । तर केहि डाक्टरहरु यहाँ पक्कै पनि छन् । जसले तृष्णा मिष्ठान्न भण्डारको अगाडि पसल थापेर बसेका ति चिकित्सा व्यापारीले दिने पैसाको लोभमा परी चिकित्सक जस्तो मर्यादित पेसालाई धमिलो बनाइदिएका छन् । मेरो दिमागमा सधैँ एउटा कुरा खेलिरहन्छ । त्यो के भने मैले डाक्टरी सेवा निःशुल्क अथवा अत्यन्त सस्तो मुल्यमा सबैलाई उपलब्ध गराउन पाएँ कति बेस हुन्थ्यो होला । मेरो आम्दानीको स्रोत डाक्टरी पेसा बाहेक अरु केहि भैदिएको भए कति राम्रो हुन्थ्यो होला । मलाई पनि बाध्यता छ बिरामीको नाँडि छामेर उ सँग लिएको पैसाले घर चलाउनुपर्छ । यो बाध्यता अन्त्य भए कति राम्रो हुन्थ्यो होला ! चिकित्सा सेवालाई पेसाको रुपमा मात्र चलाउन पाए रोगीहरुको आर्थिक शोषण हुने थिएन् । चिकित्सा सेवा एक व्यवसायिको रुपमा रहदाँ सम्म कुनै न कुनै रुपमा जानी नजानी रोगीको आर्थिक शोषण भएरहेको हुन्छ । यो अवस्थाको अन्य गर्न पाए कति राम्रो हुन्थ्यो होला । (वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रेग्मी वीर अस्पतालमा कार्यरत हुनुहुन्छ ।)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य लेख