नेभिगेशन

डेङ्गी नियन्त्रण:सेना परिचालनभन्दा जमेका पानी नष्ट गर्ने र सर्वसाधारणमा यसबारे शिक्षा दिँदा प्रभावकारी

लामखुट्टे

स्वास्थ्य मन्त्रालयले यो वर्ष चार हजारभन्दा धेरैलाई डेङ्गी रोगको सङ्क्रमण देखिएको भन्दै स्थिति अझ गम्भीर हुन नदिन सबैतिरबाट प्रयासको आह्वान गरेको छ।

नेपालका विभिन्न स्थानमा फैलिएको डेङ्गीको काठमाण्डू उपत्यकामा मात्रै ६० जनालाई सङ्क्रमण भएको बताइएको छ। डेङ्गी रोग फैलन रोक्न सुरक्षा फौजको परिचालन गर्न सकिने चर्चा पनि चलेको छ। विज्ञहरू भने रोग नियन्त्रणका लागि सेना परिचालनभन्दा जमेका पानी नष्ट गर्ने कार्यक्रम र सर्वसाधारणमा यसबारे शिक्षा दिँदा प्रभावकारी हुने बताउँछन् ।

के भन्छ सेना ?

नेपाली सेनाका प्रवक्ताले भने हालसम्म त्यस्तो परिचालनको खबर नआएको बताएका छन् । विशेषगरी डेङ्गी रोग फैलाउने लामखुट्टेले अण्डा पार्ने जमेको पानी भएका ठाउँ खोज्दै नष्ट गर्न त्यस्तो परिचालन आवश्यक हुन सक्ने तर्क गरिएको छ। तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीका अनुसार त्यसरी फौज परिचालन गर्नु प्रभावकारी हुँदैन। डा मरासिनीले भन्छन्, "उनीहरूलाई नै रोग लाग्यो भने के गर्ने?" "मुख्य भूमिका भनेको नगरपालिकाहरूको हो। उनीहरूले नै पानी जमेका ठाउँ खोजेर नष्ट गर्न सक्छन्।"
टायर

टायरको भूमिका के ?

डेङ्गी रोग फैलाउने एडिज नामक लामखुट्टेले जमेका पानीमा अण्डा पार्छ। "त्यसैले यो रोग फैलनबाट रोक्न सबैभन्दा मुख्य काम पानी जम्ने ठाउँ नष्ट गर्नु नै हो," डा. मरासिनीले भने। "अझ विशेषगरी सहरबजारतिर पुराना टायर यत्तिकै फालेर राखिएका छन् भने त्यसले लामखुट्टेलाई हुर्कने असाध्यै अनुकूल वातावरण दिन्छ।" उनले विगतको उदाहरण दिँदै टायरकै कारण वीरगन्जमा डेङ्गीको प्रकोप फैलिएको सम्झना गरे। "२०६३/६४ ताका वीरगञ्जमा निकै डेङ्गी फैलिएको थियो। झन्डै चार सयलाई सङ्क्रमण भएको थियो।" "त्यतिखेर त्यहाँ आन्दोलन भयो र बसपार्कनिर धेरै टायर राखिएको एउटा ठाउँ रहेछ। तिनै टायर आन्दोलनकारीले जलाएपछि लगत्तै सङ्क्रमण स्वाट्टै घटेको थियो।"
डेङ्गी नियन्त्रण
डेङ्गी सङ्क्रमण रोक्ने मुख्य उपाय भनेको लामखुट्टे नियन्त्रण हो
डेङ्गी रोगसम्बन्धी अनुसन्धानमा संलग्न उपप्राध्यापक रेश्मा तुलाधर भन्छिन्, "मोटर वर्कशप वरपर रहेका टायरहरूबाट सचेत हुनुपर्छ।" "कतिपय ठाउँमा पानी जमेर नबसोस् भनेर त्यसरी फालिएका टायरमा प्वाल पारिदिने गरेको पनि पाएकी छु।" त्यस्ता टायर वर्कशप काठमाण्डूमा पनि चक्रपथवरपर धेरै रहेको भन्दै उनले सचेत हुनुपर्ने बताइन्। धेरै सङ्क्रमण कहाँ ? यसपालि डेङ्गी सङ्क्रमणको केन्द्रबिन्दु चुरे नजिकका क्षेत्र भएको जानकारहरू औँल्याउँछन्। "धरान, बुटवल, चितवनजस्ता ठाउँमा धेरै सङ्क्रमण देखिएका छन्। विगतमा दक्षिण तराईका वीरगन्ज, नेपालगन्ज, भैरहवाजस्ता ठाउँमा देखिन्थ्यो," डा. मरासिनीले बताए। खासगरी बर्खायाम सकिएपछि डेङ्गी झन् फैलने गर्छ। तर मरासिनीले मानिसहरू आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन्।

नेपालमा डेङ्गी सङ्क्रमण

वर्ष बिरामी मृत्यु
2018 ८११ ३
2017 २,१११ ३
2016 १,५२९ २
2015 १३५ १
2014 ३५६ ०
2013 ६४२ ०
2012 १८३ ०
2011 ७९ ०
2010 ९१७ ५
2009 ३० ०
स्रोत: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
Presentational white space
पानी जम्न नदिने र अन्य सचेतना अपनाइए यो फैलनबाट रोकिने उनले बताए । "नेपालमा तीन-तीन वर्षको अन्तरालमा डेङ्गी सङ्क्रमणको प्रकोप देखिने गरेको छ। यसबारे व्यापक चेतना फैलाउनुर्छ।" "बच्चाहरूलाई सिकायो भने त्यो सबैभन्दा प्रभावकारी हुन्छ," तुलाधरले बताइन्।

डेङ्गीको लक्षण कस्तो हुन्छ ?

उच्च ज्वरो डेङ्गी रोगको प्रमुख लक्षणमध्ये एउटा हो। सुरुमा मन्द ज्वरो आउने र त्यो बढ्दै जान्छ। केही व्यक्तिमा हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी दुख्ने हुन्छ।

रोगबाट बच्ने के कस्ता उपाय छन्?

  • लामखुट्टेको जीवनचक्रलाई नष्ट गर्ने
  • खुला स्थानमा पानी जम्मा नगर्ने वा हुन नदिने
  • पानी छोपेर राख्ने
  • शरीरको अधिकांश अङ्ग ढाक्ने खाले लुगा लगाउने
  • सकेसम्म फिक्का सेतो रङ्गको पहिरन लगाउने
  • दिनको समयमा टोक्ने लामखुट्टेबाट बच्ने
  • लामखुट्टेको टोकाइबाट बचाउने मलमहरू प्रयोग गर्ने

कस्ता मानिसले सतर्कता अपनाउनुपर्छ ?

विज्ञहरूका अनुसार डेङ्गीबाट ज्यानै जाने सम्भावना भने कम हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार समयमै उपचार गरे मृत्युदर एक प्रतिशतभन्दा कममा राख्न सकिन्छ। तर यो रोग जुनसुकै उमेर समूहका मानिसहरूलाई लाग्न सक्ने भए पनि प्रतिरोधात्मक क्षमता कम हुने हुँदा बालबालिका र वृद्धवृद्धाले विशेष ध्यान दिनुपर्ने जनस्वास्थ्यविज्ञको सुझाव छ। बीबीसी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट