नेभिगेशन

जीवनशैलीमा परिवर्तन ल्याउँदा ८० प्रतिशत क्यान्सर टार्न सकिने

पछिल्लो समय मानिसको खानपान, जीवनशैली तथा जलवायु परिवर्तनका कारण क्यान्सरका विरामीको संख्या बढी देखिन थालेको छ । ग्लोबोक्यान २०१८ को तथ्यांकले विश्वमा हरेक वर्ष १ करोड ८१ लाख क्यान्सरका नयाँ बिरामी थपिने र ९६ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको देखाएको छ ।
५ जना पुरुषमध्ये एकजना र ६जना महिलामध्ये एकजनालाई जीवनमा कुनै न कुनै किसिमको एकपटक क्यान्सर विकास हुने र ८ जना पुरुषमध्ये एक र ११ जना महिलामध्ये १ जनाको यसका कारण मृत्यु हुने गरेको छ । ग्लोबोक्यानले चार चार वर्षमा यस्तो तथ्यांक सार्वजनिक गर्ने गरेको छ । अहिले सबैभन्दा धेरै मान्छेलाई लाग्ने र मृत्यु हुने कारण फोक्सोको क्यान्सर देखिएको छ । यसको मुख्य कारण अत्यधिक चुरोटको सेवन हो । यद्दपी विश्वमा क्यान्सरबाट हुने ८० प्रतिशत मृत्यु चुरोट, बिँडी, खैनीलगायत सूर्तिजन्य पदार्थ मानिएको छ । क्यान्सर हुनमा कुनै बंशाणुगत कारण पनि हो । वंशाणुगत भनेको पाँच–दश प्रतिशत मात्र हो । ८०—९० प्रतिशत खानपान (खाना, चुरोट, रक्सी) मा भर पर्छ । चुरोट मात्रले ३० प्रतिशत क्यान्सर हुन्छ । जीवनशैलीमा परिवर्तन ल्याउँदा ८० प्रतिशत क्यान्सर हुने सम्भावना टार्न सकिने वरिष्ठ क्यान्सर विशेषज्ञ डा. मदनकुमार पीया बताउनुहुन्छ । जंकफूड, प्रदूषण, बाहिरी खाना खाने चलनले पनि क्यान्सर बढेर गएको छ । रोग लागेपछि एक लाख दिनुको सट्टा रोग लाग्न नदिन सरकारले जनचेतना फैलाएको भए ८० प्रतिशत क्यान्सर नै नहुने उहाँको भनाई छ । अहिले ९५ प्रतिशत क्यान्सर उपचार नेपालमा हुन्छ । कसरी नियन्त्रण गर्ने ? शुरुको चरणमा अनियन्त्रित बढेका क्यान्सर कोषिकाहरुको नियन्त्रण र उपचारका लागि सर्जरी र रेडियोथेरापी प्रभावकारी मानिन्छ । यो क्यान्सर भएको भागमा केन्द्रित भएर गरिन्छ । शरीरभरी फैलिएको क्यान्सर उपचारका लागि किमो थेरापी दिने गरिन्छ ।
शुरुको अवस्थामा उपचार गरेमा सर्जरी र रेडियोथेरापीबाट निको पार्न सकिन्छ । रगत सम्बन्धि क्यान्सरको किमोथेरापीको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले धुमपान, मद्यपान जस्ता अस्वस्थ्यकर जीवनशैलीले सबैभन्दा धेरै क्यान्सर गराउँछ । त्यसैले क्यान्सरप्रति सजग र सचेत हुनु नै आजको आवश्यकता रहेको क्यान्सर विशेषज्ञ डा. सीमित सापकोटा बताउनुहुन्छ ।
उपचार नेपालमा सम्भव क्यान्सर उपचारका लागि अव विदेश जानुपर्दैन । प्रायजसो सबै उपचार नेपालमा सम्भव भइसकेका छन् । कुनै पनि क्यान्सरको उपचारमा सही निदानको आवश्यकता पर्ने भएकाले विश्वस्तरीय अत्याधुनिक प्रविधि मुलुकमा भित्रिसकेको नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा नहुने कतिपय स्पेशल वायोप्सी जाँच गर्न बिरामी विदेश गएर नमूना दिनुनपर्ने र नमूना संकलन गरी विदेशका कुनै पनि ठाउँमा पठाएर बिरामीलाई भपरर्दो रिपोर्ट अस्पतालले उपलव्ध गराउने गरेका छन् । अहिले अत्याधुनिक रेडियोथेरापी प्रविधिबाट विभिन्न क्यान्सरको उपचार नेपालमै भइरहेको छ । क्यान्सर बिरामीहरुमध्ये अधिकांशको डरका कारण मृत्यु भइरहेको छ । त्यसैले क्यान्सर भन्नेबित्तिकै डराउने र आत्तिनु नपर्ने डा. श्रेष्ठको सुझाव छ ।
दोस्रो चरण पुगेको क्यान्सरको उपचार करिब ५०—६० प्रतिशतसम्म र सम्बन्धित अंगबाट बाहिर निस्किसकेको तेस्रो चरणको क्यान्सर करिब ३०—४० प्रतिशतसम्म निको पार्न सकिने उहाँको भनाई छ ।
त्यसैले क्यान्सरको उपचारमा लक्षण पर्खेर बस्न नहुने र उमेर पुगेका जोखिम वर्गका व्यक्तिले वर्षमा एकपटक क्यान्सर डायग्नोसिस गर्ने वातावरण सृजना गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।   
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट