जनस्वास्थ्य सरोकार, काठमाडौं । गत शुक्रबार भाइरस पोजेटिभ देखिएकामध्ये एक महिला काठमाडौंमा मुटुको उपचार गराइरहेकी थिइन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ति महिला हेटौडाकी भएको विवरण सार्वजनिक गर्यो ।
यसैगरी गत मंगलबार संक्रमित पुष्टि भएकी कलंकी बस्ने महिलालाई पनि मन्त्रालयले नवलपरासीकी भनेर सार्वजनिक गरेको थियो । जसका कारण कलंकीमा उनीसँग सम्पर्कमा रहेका घरधनी अन्य भाडावाल र उनी आउजाउ गरेको पसलका व्यक्तिहरुको खोजी नै गरिएन ।
नमुना संकलन गरेको स्थानको साटो स्थायी ठेगाना सार्वजनिक गर्दा संक्रमण पुष्टि भएकाहरुसँग सम्पर्क भएकाहरुको पहिचानमा समस्या देखिएको छ ।
यसले संक्रमण भित्रभित्रै फैलिने जोखिम बढाइरहेको छ ।
यसरी संक्रमितको संख्या दिनहुँ बढिरहेको अवस्थामा न पहिचानका लागि आवश्यता अनुसार जनशक्ति परिचालन गरिएको छ न त बिरामीको ठेगाना सार्वजनिक गर्न देखिएको त्रुटी नै सच्याइएको छ ।नमुना संकलन गरिएको ठाउँको साटो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको स्थायी ठेगाना सार्वजनिक गरेर समस्या बढाइरहेको छ । पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले कोभिड १९ संक्रमित व्यक्तिहरुको पहिचान र ट्रेसिङमा संवेदनशील हुन आग्रह गर्नुभएको छ । उहाँ भन्नुहुन्छ—‘संक्रमित व्यक्तिको सम्पर्कमा को को आए ? भन्ने कुरा ख्याल गर्नुपर्छ । स्थानीय तह र बाटोमा आउ जाउको क्रममा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको सुचना लिनुपर्छ । करिब ४—५ घण्टामा सबै सुचना लिएर अर्को ४—५ घण्टाभित्रमा सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरेर स्वाव संकलन गर्ने, आइसोलेसनमा राख्ने लगायतका काम पूरा गरिसक्नुपर्छ । यस प्रकारको प्रणालीको विकास हुन जरुरी छ ।’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई भाइरस पोजेटिभ देखिएकाहरुसँग सम्पर्क भएका व्यक्तिको पहिचानको जिम्मा दिइएको छ । महाशाखाले हाल ४ देखि ५ जनाको २५ वटा टोली परिचालन गरिरहेको छ । यो पर्याप्त नभएको निष्कर्ष सहित महाशाखाले यसका लागि हरेक स्थानीय तहमा अलग अलग समूह बनाएर १ हजार ७५ जना जनशक्ति परिचालन गर्ने योजना बनाए पनि मन्त्रालयले कुनै पनि निर्णय लिएको छैन । जसका कारण महाशाखाले ७ वटै प्रदेशमा अनलाइनमार्फत तालिम दिई स्थानीय तहलाई प्रदेशसँग समन्वय गरी काम गर्न भनेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डे भन्नुहुन्छ—‘शुरुका दिनहरुमा संक्रमितहरु १ सय जनासम्म पुग्दा हामीले यहीँबाट टिमहरु परिचालन भएका थिए । तर कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टम छ । सो कमाण्ड सिस्टम अन्तर्गत विभिन्न कमिटीहरु छन् । त्यो कमिटीले कसरी कन्ट्र्याक्ट ट्रेसिङलाई अझ प्रभावकारी बनाउने ? छुटेका व्यक्तिहरुलाई सम्पर्क ल्याउने, एक हजार भन्दा बढी स्थानीय तहमा यस्ता कन्ट्र्याक्ट ट्रेसिङका टिममहरु बनाउनेलगायतका उल्लेख भएको निर्देशिका नै बनेको छ ।’ संक्रमण रोकथामका लागि संक्रमित व्यक्तिसँग सम्पर्क भएकाहरुको पहिचान मुख्य काम हो । तर यो काममा मन्त्रालय र विभागबीच नै समन्वय नभएकाले पहिचानको काम प्रभावकारी हुन सकेको छैन ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

