सविता के.सी.,बोर्ड सेक्रेटरी, नेपाल नेत्रज्योति संघ । प्रकृतिदेखि अर्थात अदृश्य शक्तिको बारेमा हामी साधारण मानवले व्याख्या गर्न खोज्नु कुनै जनावरको शरीरको रौं को संख्या गन्ने बराबरको हो । यद्यपी थोरै भएपनि अनुभव, अध्ययन र अनुभूतिको आधारमा केही उल्लेख गर्न लागेकी छु ।
विश्वको जनसंख्या दिनप्रतिदिन द्रूततर गतिमा बढ्दै गइरहको छ । हामीले उपभोग गर्ने श्रोत साधनले धान्न प्रकृतिलाई हम्मे हम्मे पर्न थालेको छ किनकि उर्वर भूमि बाँझो हुँदै गएको छ । ठूला ठूला महल बन्ने र उद्योगधन्दा खोल्ने बहानामा खेतियोग्य जमीन नष्ट हुँदैछ । यही अवस्था रहिरहे पृथ्वीमा भोकमरीको अवस्था विकराल नहोला भन्न सकिन्न ।यसैगरी पृथ्वीका मानवले उत्सर्जन गर्ने हरित गृह ग्याँसको मात्रा प्रतिवर्ष ४.८ टनका दरले थपिँदै गइरहेको तथ्याङ्क हामीले पढेका छौं । जनसंख्याको वृद्धि, औधोगिककरण र शहरीकरणले तापक्रम द्रूत गतिमा बढ्दै गइरहेको छ भने उर्जा र यातायातका साधनको अत्यधिक प्रयोग, वन विनाश र सुविधाभोगी, जीवनशैलीले बढाएको प्रदूषणले यहाँको जलवायु परिवर्तनमा मुख्य भूमिका खेलेको छ । यसको फलस्वरुप वायुमण्डलमा हरित गृह ग्याँसको मात्रा अत्यधिक बढ्दै गइरहेको छ । प्रकृतिले दिएको अनुपम उपहारमध्ये हिमाल र हिमनदीहरु जो जलवायु परिवर्तनका कारण भविष्यमा पानीका मुहानहरु सुक्ने, समुद्र सतह बढेर नजिकका आधुनिक शहरहरु डुवाउने, सदियौंदेखि वरफमा दविएर निष्क्रिय रहेका हानिकारक ग्याँस र भाइरसहरु फेरि वायुमण्डलमा फर्किन थालेका छन् ।
सदियौंदेखि माटो, चट्टान र वरफ मिलेर बनेको त्यो कडा वरफको ढिस्को पग्लनु भनेको त्यसभित्र दविएर बसेका वा संचित भएका मिथेन, कार्बन र हानिकारक मर्करी लगायत विफर, प्लेग, स्पेनिश फ्लू, एन्भाक्स जस्ता लोप भइसकेका रोगका भाइरस पुनः वायुमण्डलमा प्रवेश गर्न सक्ने खतरा वैज्ञानिकहरुले औंल्याउँदै आएका छन् ।जलवायु परिवर्तनका कारण उत्पन्न हुने नयाँ नयाँ भाइरसहरु हामीले भोग्दै आउने क्रममा हालको कोरोना (कोभिड १९) भाइरसले हाम्रो जीवनमा ठूलो हलचल ल्याइदिएको छ । विश्व आक्रान्त बनेको छ । यसको नियन्त्रण र उपचारको खोजीमा अनुसन्धानकर्ता र वैज्ञानिकहरु रातदिन नभनी खटिरहेका छन् । मरेका सडेका र ढलेकाहरुले पनि विभिन्न जीव, ब्याक्टेरिया र भाइरसलाई आश्रय दिइरहेका छन् ।
आधुनिक जीवनशैली, व्यस्तता र नयाँ नयाँ स्वाद चाख्ने होडमा जिउँदै काँचै र राम्ररी नपकाई खानाले बन जंगल र वन्यजन्तुमा रहेका भाइरसहरु मानिसमा सोझै सर्ने गरेका छन् जसको ज्वलन्त उदाहरण चीनको वुहानमा चमेरोले सर्प खाएको र सोही सर्प मानिसले खाएको भन्ने अपुष्ट समाचारका कारण आज विश्व सोही भाइरसको कारण आच्छु आच्छु भएको छ । त्राहिमामको अवस्थामा पुगेको छ ।विश्वमा धेरैले ज्यान गुमाइरहेका छन् । यो क्रम बढ्दो अवस्थामा रहेको छ । यसको कुनै भ्याक्सिन वा दवाई अहिलेसम्म आधिकारिक रुपमा आइनसकेको जानकारी प्राप्त भैरहँदा यो संख्या अझै बढ्दै गई विकराल रुप लिन सक्ने खतरा बढ्दैछ । यति मात्र कहाँ हो र जलवयु परिवर्तनका कारण अमेरिकी फौजी किराले विभिन्न मुलुकहरुलाई सताइरहेको बेला हालै अफ्रिकी मुलुकहरु केन्या, सोमालिया, तान्जेनीया, युगान्डा दक्षिणी सुडान, जिवुटी इथियोपिया र पाकिस्तान हुँदै भारतका विभिन्न क्षेत्रमा अहिले सयौं हेक्टर जमिनमा लगाइएको बालीलाई फट्याङ्ग्रा प्रजातिको सलह नामक किराले ३५ हजार मानिसलाई खानपुग्ने अन्नबाली एकै दिनमा खाएर सखाप पारिरहेको छ । करौडौको हुल आउने यस्ता किरालाई नियन्त्रण गर्न सकिएन भने यसले प्रभावित क्षेत्रमा भोकमरी नल्याउला भन्न सकिन्न । जलवायु परिवर्तनका कारण आज विश्वमा ठूलाठूला आँधिहुरी, तुफान, सुनामी जस्ता भयंकर प्रकोपहरु भोग्न परिरहेको छ । भर्खरै भारतमा अमफान नामक चक्रले धेरै जनधनको नाश गरेको छ ।
यस कारण जलवायु परिवर्तनका कारण हामीले भोगिरहेका समस्याहरु समाधानार्थ राज्यले उचित नीति नियम वनाई लागु गर्न अत्यावश्यक भइसकेको छ भने जनताहरुले पनि सादा दैनिक जीवनयापनमा जोड दिन जरुरी छ ।प्राकृतिक श्रोतको अत्यधिक दोहन र जलवायु परिवर्तनको असर व्यापक हुँदा पृथ्वीमा रहेका मानवजाति, जीवजन्तु र पशुपंक्षीहरु प्रत्यक्ष मारमा पर्न थालेका छन् । यसबाट जोगिन र भावी सन्ततिले अझ विकराल रुपको सामना गर्न नपरोस् भन्नका लागि जनसंख्या नियन्त्रण, सादा जीवनशैली, करोडौं हेक्टर खाली जमिनमा वृक्षारोपण, नीजि वन र कृषि वनको विकास आदि कुराहरुमा सुधार गर्न सकिन्छ यस्ता कुराहरुमा सुधार गर्न सके पृथ्वीलाई आवश्यक थप कार्वन संचय गर्न सकिन्छ । यसले वातावरण स्वच्छ राख्न मद्धत पुर्याउँछ र रोगव्याधी तथा भाइरसहरु उत्पन्न हुन पाउँदैन । त्यस्तै जडिबुटी र विषालु झारपातबाट निस्कने रस र गन्धले कतिपय ब्याक्टेरिया तथा भाइरसहरु नाश गर्छ भन्ने वैज्ञानिक आधारहरु भेटिएका छन् ।
हालको असन्तुलित र उत्तरदायित्वविहीन विकासको दौडमा हरेक देश कुदिरहेको छ । प्रविधि र आर्थिक विकास गर्ने होडमा विनास पनि ल्याउँदछ भन्ने हेक्का कसैले राखेको पाइँदैन । हामीले प्रकृतिलाई क्षत विक्षत बनायौं । उपभोग भन्दा पनि दोहन गर्यौं । यसैले प्रकृतिले हामीलाई पटक पटक विभिन्न रुपमा सावधान गराइरहेको छ ।प्रकृतिसँगको सहअस्तित्वमा नै हाम्रो अस्तित्व छ भन्ने कुरा बुझन् र बुझाउन जरुरी छ । विश्व अर्थतन्त्र कता गइरहेको छ । स्टेफन हकिंगस्ले भनेजस्तो यो स्वर्गसरी पृथ्वीलाई तहस नहस नपारी जीवनको कुनै आधार नभएको अन्य ग्रहमा मानव बस्ती बसाउने जस्ता तुकहीन काममा गरिने लगानीले हामीलाई अस्तित्व विहीन बनाउने पक्का छ । अहिले विश्वको लगानी कोकाकोला जस्ता हानिकारक पेय पदार्थ उत्पादन, फूटवल, चलचित्र निर्माण जस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्ने दौडमा छ । जसबाट क्षणिक आर्थिक लाभ होला । तर दीर्घकालीन लाभ दिने भनेको मानव कल्याणकारी क्षेत्रमा लगानी अनुसन्धान र प्राकृतिक संरक्षण गर्नमा प्रयोग हुँदो हो त आज विश्व यो भयावह अवस्थाबाट गुज्रने थिएन होला । अझै पनि ठूला लगानीकर्ताहरुको ध्यान यसतर्फ खिच्न सके मानवजाति र प्रकृतिले राहतको महशुस गर्न पाउने थिए । मानव कल्याणकारी क्षेत्र र प्रकृति संरक्षणका लागि आजका युवा अभियानकर्मी र वैज्ञानिकको ध्यानकर्षण बढाउन अत्यावश्यक देखिएको छ ।
अन्त्यमा, पृथ्वी यो ब्रम्हाण्डको एक मात्र स्वर्ग हो । जीवन जीवात्माको जीवन धान्ने अद्भूत क्षमताको खानी मात्र नभई यसको सुन्दरताको वर्णन गर्न हाम्रो क्षमता भन्दा बाहिरको कुरा हो । यसको संरक्षण, सम्बद्र्धन र मानव मैत्री विकास गर्न हामी मानव जातिले आफ्नो जीवनशैलीमा आमूल रुपान्तरण गरी यसलाई सामाजिक संस्कारकै रुपमा विकास गर्नुपर्ने देखिएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह
बुधबार, असार ३१, २०८३
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
बुधबार, असार ३१, २०८३
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिको संक्षिप्त सूची सार्वजनिक
बुधबार, असार ३१, २०८३ट्रेन्डिङ

