जनस्वास्थ्य सरोकार, काठमाडौं। तराईका केही जिल्लासँगै काठमाडौं उपत्यका कोभिड–१९ का हिसाबले उच्च जोखिममा परेको छ । काठमाडौँमा दैनिकजसो नै सङ्क्रमणदर बढ्दो रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बाहिरी जिल्लाबाट भित्रिएका मानिसमा सङ्क्रमण देखिएपछि उनीहरुमार्फत धेरैमा सङ्क्रमण हुन सहयोग गरेको छ । त्यसपछि आम जनमानसको प्रत्यक्ष सम्पर्क हुने सुरक्षाकर्मीमा सङ्क्रमण ह्वात्तै बढ्यो ।
विगतभन्दा अहिले मानिसले लापरवाही र हेल्चेक्रयाइँ गरिरहेको पाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउन्छन । उनका अनुसार व्यावसायिक प्रतिष्ठानले समेत स्वास्थ्य मापदण्ड नअनाउँदा समस्या बल्झिरहेको छ । भौतिक दूरी कायम गर्ने कुरामा समेत ध्यान कम छ । भीडभाड बढ्दो छ । यातायातमा समेत मापदण्ड प्रयोग गर्न सकिएको छैन । खुलम्खुला मानिस भित्रिरहेका छन् । यी विभिन्न कारणले उपत्यकामा कोभिड–१९ फैलाउन मद्दत गरेको स्वास्थ्यविज्ञहरु बताउँछन् ।उपत्यकाको नाकाबाट सहजरूपमा मानिस आवतजावत हुँदा सङ्क्रमण फैलिन सहयोग गरेको हो । शुरुआती चरणमा भारतीय सीमा क्षेत्रमा बढीे सङ्क्रमण देखिएको थियो । अहिले भारतबाट आउने क्रम न्यून भएपछि नेपालभित्रै सङ्क्रमण फैलिसकेको स्पष्ट भएको छ । आपतकालीन उद्धारमा गएका सुरक्षाकर्मीबाट पनि कोभिड–१९ सङ्क्रमण भित्रिएको आशङ्का गरिएको छ । दुई दिनअघि काठमाडौँको हाँडीगाउँस्थित कोटालमा बस्ने एक सुरक्षाकर्मीमा कोभिड–१९ पुष्टि भयो । परीक्षणका क्रममा उनका परिवारसहित पाँच जनाका सङ्क्रमण देखियो । उनका घरबेटीलाई समेत सङ्क्रमण भएको पाइयो । सोही टोलमा २५ जनाको परीक्षण गर्दा थप छ जनामा सङ्क्रमण भेटिएको काठमाडौं महानगरपालिका–५ का वडाध्यक्ष रमेश डङ्गोल बताउन्छन । उनका अनुसार अहिले उक्त टोललाई सिल गरिएको छ । उपत्यकाका अन्य १२० भन्दा बढी स्थानमा सङ्क्रमण देखिइसकेको छ । यस्तो अवस्थामा स्वयं सावधानी अपनाइएन भने नियन्त्रणका कुनै पनि उपायले काम नगर्ने मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । नेपालमा गत माघ ९ गते पहिलो सङ्क्रमण देखिएको थियो । त्यसपछि चैतमा फाट्टफुट्ट देखियो । वैशाख अन्तिम सातापछि ह्वात्तै बढेको थियो । त्यो बेला क्वारेन्टिनमा बसेका मानिसमा बढी थियो भने अहिले समुदायमै देखिन थालेकाले थप जोखिम छ । रासस
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
