जनस्वास्थ्य सरोकार, विराटनगर । विराटनगर महानगरपालिकामा बिहीबार बिहानसम्ममा २७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणपछि १५ देखि ७४ वर्षसम्मका १९ पुरुष र आठ जना महिला थपिएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए।
उनकाअनुसार विराटनगर–२ मा दुई जना, ३ मा एक, ५ मा तीन, ६ मा दुई, ८ मा पाँच, ९ मा चार, १० मा दुई, १२ मा चार र १७ नम्बर वडामा चार जनामा संक्रमण देखिएको हो।
नयाँ २७ जना थपिएपछि तीव्र रुपमा कोरोना फैलिइरहेको विराटनगरमा हालसम्म संक्रमित संख्या तीन सय ८२ पुगेको छ। संक्रमितमध्ये ६९ जना उपचारपछि कोरोना जितेर घर फर्किएका छन्।
विराटनगरमा हालसम्म कोरोना संक्रमणका कारण पाँच जनाको मृत्यु भइसकेको छ। तर विराटनगर महानगरपालिकाको रेकर्डले भने चार जनाको मात्रै मृत्यु भएको देखाउँछ। विराटनगर महानगरपालिका–१० का एक पुरुषको मृत्यु भएको घटनालाई महानगरले आफ्नो रेकर्डमा समेटेको छैन।
गत शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएका ती पुरुषको शव दाहसंकास्कारका लागि परिवारका सदस्यलाई जिम्मा लगाइएको थियो। परिवारका सदस्यले दाहसंस्कार गरेका थिए। कोशी अस्पतालको प्रयोगशालामा उनको स्वाबको रिपोर्ट पोजेटिभ आएको थियो। तर पछि प्रदेश १ जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको भन्दै प्रतिष्ठानले शव परिवारको जिम्मा लगाएको थियो।
प्रदेश सरकारले उनको मृत्यु कोरोनाकै कारण भएको जनायो। प्रदेश प्रयोगशालाले पनि कोरोनाकै कारण मृत्यु भएको बताउँदै पछिल्लो स्वाब संकलनमा त्रुटि भएका कारण रिपोर्ट नेगेटिभ आएको हुन सक्ने जनाएको छ। तर महानगरले भने आफ्नो रेकर्डमा ती पुरुषको मृत्यु कोरोनाका कारण भएको भनेर उल्लेख गरेको छैन।
कोरोनाका कारण कसैको मृत्यु भएमा अन्तिम संस्कारकाका लागि परिवारलाई शव जिम्मा लगाउन नमिल्ने र नेपाली सेनाको विशेष टोलीले सुरक्षित तवरबाट शवको व्यवस्थापन गर्नु पर्ने कार्यविधि छ। शवको व्यवस्थापन गर्न सेनालाई नदिइकन परिवारको जिम्मा लगाइएका कारण कोरोनाका कारण मृत्यु भएको भनेर रेकर्डमा राख्न नसकिने दाबी महानगरले गर्दै आएको छ।
कोरोनाका कारण बुधबार विराटनगर–३ का एक पुरुषको मृत्यु भएको थियो। ५७ वर्षीय पुरुष विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन्। त्यसअघि विराटनगर–९ का दुई र विराटनगर –५ का एक पुरुषको मृत्यु भइसकेको छ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त रद्द
मंगलबार, असार ३०, २०८३
बीपी प्रतिष्ठानकी नवनियुक्त उपकुलपति प्रा.डा. स्मृति कार्कीद्वारा पदभार ग्रहण
मंगलबार, असार ३०, २०८३
स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको सांसद तामाङको टिप्पणी
मंगलबार, असार ३०, २०८३
गर्मीयाममा स्वस्थ रहन अपनाउनुपर्ने ७ प्रभावकारी उपाय
मंगलबार, असार ३०, २०८३
कर्णालीमा निःशुल्क मृर्गौला प्रत्यारोपण
मंगलबार, असार ३०, २०८३ट्रेन्डिङ
